रौतहट,७ फागुन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रपुर वडा नम्बर ४ मा रहेको तुलसीलाल स्मृति रङ्गशालामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको चन्द्रपुर ४ का वडा अध्यक्ष रवि राणा मगरले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाका १० वटै वडाका फुटबल टिमको सहभागितामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सो प्रतियोगिता आयोजना हुनेछ । वडामा रहेका विभिन्न खेलको विकासलाई मध्यनजर गर्दै वडाले विभिन्न खेलकुद प्रतियोगितामा सहयोग गर्दै आएको वडा अध्यक्ष रवि राणा मगरको भनाइ रहेको छ ।