रौतहट,२ बैशाख । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतको सन्तपुर प्रहरी चौकीका कारण स्थानीय हैरान भएकाछन् । सो चौकीमा कार्यरत रहेका असई दिनानाथ प्रसाद यादवका कारण स्थानीय हैरान भएका हुन । कहिले निजी जमिनमा लगाएको सपेता काटदा पैसा माग्ने नदिए वन कार्यालयमा बुझाउने ,कहिले बजार बजार गएर पैसा माग्ने काम गर्दै आएका यादवले पछिल्लो प्रहरी चौकी रहेकै भवन साझा संस्था कृषि सहकारीको काठबाट फर्निचर बनाएर घर लाने लगाएका काम गरेकाछन् ।
उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संरक्षण रहेका कारण उनले प्रहरीको आचारण बाहिर गएर काम गर्ने गरेको स्थानीय बासिन्दाले बताएकाछन् । सन्तपुरमा रहेको प्रहरी चौकीको भवन बन्दै गरेका कारण स्थानीयले प्रहरी चोकी सन्तपुरमा रहेको साझा संस्था कृषि सहकारीको भवनमा लगेर राखेका थिए । त्यहाँ सहकारीको पुरानो काठ समेत थियो । पछिल्लो समय आएर असई यादवले सोही काठको फर्निचर बनाएर घर पठाउन लागेको अवस्थामा फेला पर्दा समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले असई यादव माथि कार्वाही नगरेको चन्द्रपुर नगरपालिकाका पुर्व नगर प्रमुख तथा सो सहकारीका अध्यक्ष रामचन्द्र चौधरीले बताए ।
अफिसको फर्निचर बनाउने बहानामा सहकारीको काठबाट फर्निचर बनाएर घर पठाउने तयारी गरेको अवस्थानमा स्थानीयले फेला पारेको पुर्व नगरप्रमुख चौधरीले बताए । सो चौकीमा यादव आएदेखी स्थानीय हैरान भएको र उनको सरुवाका लागि पटक पटक सम्बन्धीत निकायमा जानकारी गराउदा समेत कुनै वास्ता नभएको चन्द्रपुर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले बताए । स्थानीयले घुस्याहा प्रबृतीका यादवको तत्काल सरुवाको माग गरेकाछन् ।








