चन्द्रपुर,१० माघ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक महिनाको अन्तरमा नौ जना चोरलाई पक्राउ गरेर मुद्दा चलाएको छ । चन्द्रपुर नगर क्षेत्रमा चोरीका घटना तीव्ररूपमा बढेपछि इलाका प्रहरी कार्यालयले चोर पक्राउ अभियानलाई तीव्रता दिएको हो ।
पुस महिनाभरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विभिन्न चोरीका घटनामा संलग्नहरुलाई पक्राउ गरेर म्याद थप गरी कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।
केही दिन पहिला चन्द्रनिगाहपुर गौर सडक खण्डमा एकजना युवती र एकजना युवक मिलेर एकजना बटुवाको मोबाइल लुटेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
चोरीका घटनालाई न्यूनीकरण गर्नका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अभियान नै सञ्चालन गरेको डिएसपी राईको भनाइ रहेको छ । लागू औसतका सेवनकर्ताहरू तथा मादक पदार्थ सेवन गर्नेहरू नै चोरीका घटनामा संलग्न रहेको पाइएको प्रहरीको भनाइ रहेको छ ।
प्रहरीले चन्द्रपुर नगरपालिका वडा नम्बर ९ नजरपुरबाट धान चोरी गरेको अभियोगमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने १५ वर्षका गजेन्द्र चौधरी, चन्द्रपुर नगरपालिका वडा नम्बर ९ घर भएका १४ वर्षका गोविन्द चौधरी, सोही स्थानका १५ वर्षका लालबाबु चौधरीलाई पक्राउ गरेको थियो ।
प्रहरीले चन्द्रपुर नगर क्षेत्रमा हुने मोटरसाइकल चोरीका घटनामा संलग्न रहँदै आएका चन्द्रपुर नगरपालिका वडा नम्बर १० बस्ने नसिम सिंहको छोरा २५ वर्षको सञ्जय सिंहलाई पक्राउ गरेको थियो ।
यस्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मोबाइल चोरीको घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएका १९ वर्षका किसन शाहलाई पक्राउ गरेको थियो ।
यस्तै विभिन्न चोरीका घटनामा संलग्न रहँदै आएका चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षका भीमबहादुर भुजेललाई समेत इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले पक्राउ गरी कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै प्रकृतिको चोरीका घटनामा संलग्न रहँदै आएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षका मिलन विश्वकर्मालाई समेत पक्राउ गरेर कानुन अनुसार जिल्ला अदालत गौरबाट म्याद थप गरीएको छ ।
चन्द्रपुर नगर क्षेत्रमा पछिल्लो समय चोरीका घटना दिनप्रतिदिन बढ्दै जान थालेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चोरी नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्दै चोरहरुलाई धमाधम पक्राउ गरेको थियो । पछिल्लो समय प्रहरीले चोरीका घटनामा संलग्नहरूलाई धमाधम पक्राउ गर्न थालेपछि स्थानीय बासिन्दाले समेत राहतको महसुस गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा बसन्त आचार्यको भनाइ रहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार चोरी तथा लागू औषधमा संलग्न युवा तथा किशोर किशोरीहरूलाई पक्राउ गर्ने क्रमलाई प्रहरीले निरन्तरता दिने बताएका छन् ।
समाजमा हुने उश्रिङ्खल गतिविधि तथा अपराधी गतिविधिमा संलग्न जो कोहीलाई पनि नछाडिने डीएसपी राईको भनाइ रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा केही समय पहिला भइरहेको श्रृङ्खलाबद्ध मोटरसाइकल चोरीका घटनाहरूमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेपछि पछिल्लो समय मोटरसाइकल चोरीका घटनाहरु मा कमी आएको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मातहतमा उश्रङ्खल गतिविधि तथा कानुन विपरीत काम गर्ने कसैलाई पनि प्रहरीले नछाड्ने डिएसपी राईको कथन छ । २०८१ माघ १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।