पर्सा २१ चैत । आइओसी बरनी डिपोबाट लोड भएर आउने हवाई इन्धनमा व्यापक चोरी हुने गरेको छ । इन्धन ढुवानी गर्ने ट्याङ्करबाट अवैध रूपमा तेलको चोरी हुने गरेको समाचार स्रोतले बताएको छ । बारा र पर्साका केही पेट्रोल पम्पहरूको मिलेमतोमा ट्याङ्कर चालकहरूले हवाई इन्धन बिक्री गर्ने गरेका छन् । सम्बन्धित निकायकै मिलेमतोमा यसरी हवाई इन्धन चोरी हुने गरेको पाइएको हो । चोरी गरेर बेचिएको हवाई इन्धन पेट्रोल र डिजलमा मिसाएर बेच्ने गरेको तथ्य फेला परेको छ । हवाई इन्धन पेट्रोल र डिजलमा मिसाएर बेचिँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेका छन् । यसको नियमन गर्ने निकाय नेपाल आयल निगमले समेत त्यसतर्फ चासो नदिएका कारण हवाई इन्धनको चोरीमा बढौती भएको जानकारहरूको भनाइ रहेको छ । नेपाल आयल निगमका माथिल्लो निकायका कर्मचारीहरूकै संलग्नतामा यसरी बारा र पर्साका पेट्रोल पम्पमा हवाई इन्धन बिक्री हुने गरेको छ । बीरगञ्जदेखि अमलेशगञ्जसम्मका पेट्रोल पम्पहरूमा प्रहरीले समेत नियमित रूपमा अनुगमन गर्नुपर्ने जानकारहरूको भनाइ रहेको छ । पेट्रोल पम्प सञ्चालकहरूले हवाई इन्धन डिजल र पेट्रोलमा मिसाएर उपभोक्तालाई बेच्दा त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरु पर्ने गरेको भए पनि यसतर्फ सम्बन्धित निकायले चासो दिएको पाइँदैन ।








