ओम किशोर चौधरी
रौतहट,१० जेठ । चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखामा व्यापक बेथिति देखा परेको छ । चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नै यहाँको स्वास्थ्य क्षेत्रलाई बिगार्ने वातावरणमा लागेका छन् । भ्रष्ट स्वभावका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरका कारण यहाँको स्वास्थ्य क्षेत्र लथालिङ्ग बन्दै जान थालेको व्यापक रुपमा गुनासो बढेको छ ।
ठाकुरले आफूलाई ठूलै मान्छे सम्झिएर चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय काफ्लेको कुरा समेत सुन्न छाडेका छन् । उनले कयौँ कुरामा मेयरलाई समेत अटेर गर्ने गरेको पाइएको छ । मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताल नै सञ्चालन अनुमति नदिनुपर्ने भनेका अस्पताललाई नै हतार हतार सञ्चालन अनुमति दिएका थिए । उनले पैसा दिने अस्पताललाई तत्कालै सञ्चालन अनुमतिपत्र दिने र मागे जति पैसा नदिने अस्पताललाई विभिन्न बहानामा दुःख दिएर सञ्चालन अनुमति पत्र नदिएको गुनासो बढेको छ । पैसा नदिने अस्पतालहरूलाई सबै प्रक्रिया पुर्याएर जाँदा समेत म दर्ता गर्दिन भन्दै फिर्ता पठाउने गरेका छन् । पैसा दिने मापदण्ड विपरीत सञ्चालित अस्पतालहरूलाई भने ठाकुरले धमाधम दर्ता प्रमाणपत्र दिएर पठाउने गरेको गुनासो बढेको छ ।
चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ठाकुरको विषयमा जनस्तरबाटै व्यापक रुपमा गुनासो आएको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
ठाकुरले चन्द्रपुर नगर क्षेत्रको स्वास्थ्यमा समेत रकमी चलखेल गरेर आर्थिक अनियमितता गर्ने गरेकाले उनलाई तत्काल त्यहाँबाट हटाउनुपर्ने चन्द्रनिगाहपुरका सञ्चारकर्मी सन्तोष काफ्लेले बताए । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ठाकुरले आर्थिक चलखेल गरेर नगरलाई नै दूषित पार्ने काम गरेका कारण उनलाई तत्काल सो पदबाट हटाउनुपर्ने बताएका थिए ।
पदको घमण्डले ओतप्रोत भएका ठाकुरका कारण स्वास्थ्य क्षेत्रका कर्मचारीहरू नै उनीबाट रुष्ट रहेका छन् । ठाकुरको गलत क्रियाकलापको विषयमा चन्द्रनिगापुरका जान्ने सुन्नेले नगर प्रमुखलाई गुनासो गर्दा समेत उनीमाथि कुनै एक्सन हुन सकेको छैन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले अस्पतालको नियमित ड्यिुटी छाडेर निजी अस्पतालमा ड्यिुटी गर्दा समेत स्वास्थ्य शाखा प्रमुख ठाकुरले कानमा तेल हालेर बस्ने गरेका छन् ।
सरकारी अस्पतालमा जाने बिरामीलाई फलानो निजी अस्पतालमा जानु म त्यही आएर राम्रोसित चेक जाँच गरिदिन्छु भन्दै पठाउने डाक्टरहरूकै पक्षपोषण गर्ने ठाकुरलाई कारबाही गर्नुपर्ने माग जनस्तरबाट उठेको छ ।








