रौतहट,१३ जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्वर्गीय पत्रकार फणिदेव महतको परिवारलाई आर्थिक सहयोग गरेको छ । चन्द्रनिगाहपुरमा आयोजित एक विशेष कार्यक्रममा पत्रकार महासंघको आयोजनामा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहभागी भएका पत्रकारहरूले पाउने भत्ताको रकम स्वर्गीय महतकी धर्मपत्नी सुनन्दा कार्कीलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघका पदाधिकारीसहित स्थानीय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्वर्गीय महतको योगदानको स्मरण गर्दै उनको परिवारप्रति सम्मान व्यक्त गर्दै रकम प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले पत्रकार महतको निधनले जिल्लाको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि परिवारलाई आवश्यकताअनुसार निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाए ।
स्व. महत लामो समय देखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए र समाजप्रति उत्तरदायी पत्रकारिताको उदाहरण प्रस्तुत गरेका थिए । कार्यक्रमले पत्रकार समुदायमा पारस्परिक सहकार्य र सहानुभूतिको भावना झन बलियो बनाएको सहभागीहरूले बताएका छन् ।
साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार चन्द्रपुर नगरपालिकाको होटल आरोहीमा सम्पन्न भएको थिो । आमसञ्चार प्रतिष्ठान मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा आयोजित उक्त कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सूचना प्रविधि क्षेत्रका व्यक्ति तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा साइबर सुरक्षासम्बन्धी आधुनिक प्रविधि, सम्भावित जोखिम, सुरक्षित इन्टरनेट प्रयोगका उपायहरू तथा एआइको प्रयोग र प्रभावबारे विस्तृत जानकारी दिइएको थियो। प्रशिक्षकहरूले डिजिटल युगमा सञ्चारकर्मीहरूको भूमिकाबारे चर्चा गर्दै प्रविधिको सही र सुरक्षित प्रयोग अनिवार्य रहेको औंल्याए । आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले सञ्चार क्षेत्रको प्रविधिमैत्री विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । सहभागीहरूले कार्यक्रम निकै जानकारीमूलक तथा उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।
उक्त कार्यक्रमले स्थानीय सञ्चारकर्मीहरूबीच डिजिटल साक्षरताको महत्व थप बलियो बनाएको आयोजकहरूको भनाइ छ । सोही कार्यक्रममा सहभागि संचारकर्मीका लागि उपलब्ध गराइएको भत्ता वापतको रकम स्वर्गीय पत्रकार महतकी श्रीमतीलाई प्रदान गरिएको थियो । २०८२ जेठ १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।