गौर,१३ जेठ । भारतसँग सीमा जोडिएको गौर नाका हुँदै तस्करी खुलेआम मौलाउँदै गएको छ। स्थानीय बासिन्दाहरूका अनुसार तस्करी गतिविधि सशस्त्र प्रहरी बल (एपीएफ) को मिलोमतोमा भइ रहेको छ। सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी नै तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ । गौरको मुख्य भन्सार नाकाबाट दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक सामग्रीदेखि लागुऔषध, मदिरा र अन्य वस्तुहरू बाक्लै रूपमा तस्करी भइ रहेको छ। तस्करहरू सुरक्षा निकायसँगको साँठगाठमा निर्बाध रूपमा सामान ओसारपसार गर्ने गरेको स्थानीयको दाबी छ ।
“हामीले बारम्बार तस्करी देख्यौं, तर सुरक्षा निकाय मौन छ। साँच्चै सुरक्षाकर्मी चाहिएको ठाउँमा त उनीहरू नै तस्करलाई सहयोग गरिरहेका देखिन्छन्,“ गौरका एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताए ।
तस्करी नियन्त्रणको नाममा सशस्त्र प्रहरीले सीमामा जाँच कडा गरेको देखाए पनि भित्रभित्रै तस्करसँग आर्थिक लेनदेन गरी छुट दिइने गरिएको आरोप पनि उठेको छ। यसले गर्दा गौर नाकाबाट हुने अवैध कारोबार दिन प्रतिदिन बढ्दो छ ।
तस्करीका घटनाले राजस्व हानिको मात्र होइन, समाजमा आपराधिक प्रवृत्ति बढ्ने खतरा समेत बढाएको छ। यस्तै अवस्था रहिरहेमा गौर नाका आपराधिक गतिविधिको केन्द्र बन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।
यस विषयमा सशस्त्र प्रहरी बलका जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क गर्दा टिप्पणी लिन सकिएको छैन। स्थानीय प्रशासनले भने छानबिन गर्ने आश्वासन दिएको छ ।
भारतसँग सिमा जोडिएको रौतहट जिल्लाको खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले नुनदेखि सुनसम्मका सामग्री ओसारपसार गरिरहेका छन्। सीमामा सुरक्षा निकायहरूको कमजोरी तथा चेकजाँचको अभावका कारण तस्करी दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।
स्थानीय स्रोतका अनुसार नेपालबाट भारततर्फ चाइनिज इलेक्ट्रोनिक सामग्री, तयारी मदिरा तथा अन्य दैनिक उपभोग्य वस्तुहरू लुकाइछिपाई लैजाने गरिएको छ । यता भारतबाट नेपालमा कपडा, श्रृंगार सामग्री, हार्डवेयरका सामान, मसला, तेल, खैनीजस्ता वस्तुहरू खुलेआम भित्र्याउने गरिएको छ ।
तस्करीको मुख्य मार्गका रूपमा गौर, इशनाथ, फतुवा विजयपुर, बौधीमाई, कटहरिया लगायतका सीमावर्ती नाकाहरू प्रयोगमा ल्याइन्छ । मोटरसाइकल, साना यातायातका साधन तथा पैदलमार्ग प्रयोग गरेर सामग्री ओसार्ने तस्करहरूको गतिविधि नियन्त्रणबाहिर पुगेको स्थानीयको गुनासो छ । “सुरक्षाकर्मीको आँखा छल्न तस्करहरू अब्बल छन्,“ एक स्थानीय व्यापारीले भने, “कतिपय अवस्थामा सुरक्षाकर्मीको मिलेमतोमै सामान ओसारिन्छ भन्ने आशंका पनि गर्न सकिन्छ ।“ यस अवैध कारोबारका कारण राज्यले वार्षिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको छ। विशेषगरी सस्तो मूल्यमा भारतबाट भित्रने कपडा र श्रृंगार सामग्रीले नेपाली बजारमा प्रतिस्पर्धा गर्न गाह्रो बनाएको स्थानीय व्यवसायी बताउँछन् ।
सिमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राजस्व अनुसन्धान विभागले समय समयमा कारबाहीका प्रयास गरे तापनि प्रभावकारी रूपमा रोकथाम गर्न सकेका छैनन्। सिमा क्षेत्रमा स्थायी चेकपोस्ट स्थापना, प्रविधियुक्त निगरानी प्रणाली तथा स्थानीयको सक्रिय सहभागिता बिना तस्करी नियन्त्रण कठिन हुने सुरक्षा विश्लेषकहरूको भनाइ छ ।
सामाजिक तथा आर्थिक दृष्टिकोणले पनि तस्करीले स्थानीय उत्पादनमा असर पार्नुका साथै अपराध र भ्रष्टाचार प्रवृत्तिलाई बढावा दिइरहेको सरोकारवालाहरूको चिन्ता छ । २०८२ जेठ १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।