रौतहट, जेठ ३० – कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाशद्वारा एक जना पत्रकारमाथि कुटपिट गरिएको छ। कटहरिया म्युजिकल एफएममा कार्यरत पत्रकार सागर संगम ठाकुरलाई बिहीबार दिउँसो नगरक्षेत्रमै रहेको त्रिशक्ति बोर्डिङ स्कुलमा बोलाएर कुटपिट गरिएको हो ।
घटनामा पत्रकार ठाकुर गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचार गरुडास्थित एक निजी अस्पतालमा गरिएको भए पनि अवस्थाको गम्भीरताका कारण थप उपचारका लागि वीरगंज स्थानान्तरण गरिएको छ ।
स्रोतका अनुसार, पत्रकार ठाकुरमाथिको आक्रमण नगरप्रमुख अजय प्रकाश आफैंको नेतृत्वमा गरिएको हो। यसअघि पनि मेयर प्रकाशले पत्रकारमाथि बल प्रयोग गर्दै आएका छन्। उनले अघिल्लो समयमा दुई जना पत्रकारलाई समेत कुटपिट गरिसकेका छन्। ती घटनाका सन्दर्भमा हाल जिल्ला अदालत गौरमा मेयरविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा विचाराधीन छ।
घटनापछि पत्रकार समुदायमा तीव्र आक्रोश फैलिएको छ। स्थानीय सञ्चारकर्मीहरूले मेयर प्रकाशविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्। तर, मेयरले आफूविरुद्ध आएका समाचार दबाउन र आफ्ना पक्षमा समाचार लेखाउन केही व्यक्तिहरूलाई प्रयोग गरिरहेको आरोप समेत लागेको छ।
पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको खुला धावा हो,ू एक स्थानीय पत्रकारले भने, ूयो लोकतान्त्रिक मूल्य र मान्यतामाथिको अपमान हो।ू
स्रोतका अनुसार, मेयर प्रकाशले पत्रकार ठाकुरलाई अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि केही पत्रकार भनिने व्यक्तिहरूबाट उक्त अडियो एआई ९कृत्रिम बुद्धिमत्ता० प्रविधिबाट बनाइएको भनेर बचाउ गर्ने प्रयास भइरहेको छ। तर, एआई गालीगलौज गर्न सक्दैन भन्ने सामान्य तथ्यसम्म नबुझी सार्वजनिक रूपमै भ्रम फैलाउने कोसिस भइरहेको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग स्थानीय पत्रकार महासंघ, नागरिक समाज र जनप्रतिनिधिहरूले समेत गरेका छन्।