चन्द्रपुर,२३ असार । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक ठाउँमा अनुमति विना अवैध रूपमा आतसबाजी तथा पड्का विस्फोट गरिँदै आएको गुनासो बढ्दै गएको बेला प्रहरीले कडाइ गर्न थालेको छ । यही क्रममा, मिति २०८२ साल असार २० गते राति करिब १० बजे विवाह समारोहको बहानामा चन्द्रपुर नगर क्षेत्रमै आतसबाजी गरि सर्वसाधारणमा त्रास फैलाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार, पक्राउ परेका व्यक्तिसँगै केही परिमाणमा आतसबाजी पड्का समेत बरामद गरिएको छ । पक्राउ परेका व्यक्ति हाल प्रहरी नियन्त्रणमा रहेका छन् र उनीमाथि आवश्यक अनुसन्धान र कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
विस्फोटक वस्तुजस्ता आतसबाजी तथा पड्काहरू सार्वजनिक स्थल, नगर क्षेत्र, चोक तथा बजारमा चलाउनु नेपालको विद्यमान कानुनअनुसार स्पष्ट रूपमा प्रतिबन्धित छ । यस्ता क्रियाकलापले सर्वसाधारणमा त्रास उत्पन्न गर्नुका साथै जनधनको क्षति हुने सम्भावना समेत रहन्छ। त्यसैले, यस्ता गतिविधिलाई कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता सुरक्षा निकायले औंल्याउँदै आएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले यस विषयमा प्रतिक्रिया दिँदै भने, “नगर क्षेत्रलाई शान्त, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो प्रयासमा यस्ता गैरकानुनी गतिविधिहरूले बाधा पु¥याइरहेका छन् । यसप्रकारको आतसबाजी तथा पड्का विस्फोट कानुनविपरीत कार्य हो। त्यसैले सबै नगरवासी र व्यवसायीलाई यस्ता कार्य नगर्न र नगराउन हार्दिक अनुरोध गर्दछौं।“
स्थानीय बासिन्दाहरूले पनि यस्ता गतिविधिको विरुद्ध आवाज उठाउँदै आएका छन् । विशेष गरी रातको समयमा अचानक गरिने पड्काहरूले वृद्ध, बालबालिका र बिरामीहरूमा गम्भीर असर पारिरहेको भन्दै नागरिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
चन्द्रपुरका एक स्थानीय समाजसेवीले भने, “विवाह, भोज, उत्सवको नाममा आतसबाजी गरेर अशान्ति फैलाउने प्रवृत्तिमा अंकुश लगाउन ढिला गर्नु हुँदैन। यस्ता कार्यहरूले हाम्रो सामाजिक सद्भावमा समेत असर पार्न सक्छ ।“
यस घटनालाई उदाहरणीय कारवाहीको रूपमा लिँदै इलाका प्रहरी कार्यालयले यस्ता कार्यहरू दोहोरिन नदिन सुरक्षा सतर्कता अझ कडा बनाउने बताएको छ । साथै, विशेष अवसरहरूमा प्रहरी गस्ती र अनुगमन अझ कडा पारिने पनि डीएसपी राईले जानकारी दिएका छन् ।
प्रहरीको चेतावनी अनुसार अबदेखि नगर क्षेत्रमा कुनै पनि व्यक्ति वा समूहले बिनाअनुमति आतसबाजी तथा पड्का चलाएमा कडा कानुनी कारवाही गरिनेछ । प्रहरीले सर्वसाधारणलाई पनि यस्ता कार्यहरू देखेमा तत्काल प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ । २०८२ असार २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।