रौतहट,२३ असार । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेकपा (एमाले) र नेपाली काँग्रेसबीचको सत्ता गठबन्धन आगामी २०८४ सालसम्म कायम रहने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपाल धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले सत्ता पक्षकै केही सांसदले सरकार ढाल्न खोजिरहेको आरोप समेत लगाउनुभयो। तर एमाले–काँग्रेस नेतृत्वबीचको समझदारीले गठबन्धन अझ सशक्त हुँदै गएको उहाँको भनाइ थियो ।
महासेठले नेकपा (माओवादी केन्द्र) ले गठबन्धन तोड्न प्रयास गरे पनि सफल नभएको उल्लेख गर्नुभयो। विगतका सरकारको तुलनामा वर्तमान सरकारले उत्साहजनक काम गरिरहेको दाबी गर्दै उहाँले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक सुधार आएको पनि बताउनुभयो ।
पूर्वराष्ट्रपति केपी शर्मा ओलीसँगको अन्तरविरोधको चर्चा निराधार भएको उल्लेख गर्दै महासेठले उहाँ (ओली) पार्टीको नीति, विचार र सिद्धान्तअनुसार नै सक्रिय रहेको स्पष्ट पार्नुभयो ।
राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणबारे समेत बोल्दै महासेठले नगराइन नगरपालिका–स्थित मनियारीको जग्गामा भवन बन्ने हो भने आफूलाई आपत्ति नरहेको बताउनुभयो। यस विषयमा आफू लामो समयदेखि आवाज उठाइरहेको उहाँले स्मरण गराउनुभयो । पत्रकार सम्मेलनमा एमाले नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतोले विश्वविद्यालय भवन निर्माणलाई लिएर राजनीति गर्ने नेताहरुको भण्डाफोर गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो। जनकपुरधामको समग्र विकासमा आफू क्रियाशील रहँदा केही नेताले जनतालाई भ्रममा पार्न खोजेको उहाँको भनाइ थियो ।
कार्यक्रम प्रेस चौतारी धनुषाका अध्यक्ष नविन मिश्र प्रियदर्शीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य हरिनारायण महतो, प्रदेशसभा सदस्य लखन दास लगायतको उपस्थिति थियो ।