रौतहट,४ साउन । रौतहटको कटरियामा रहेको कटहरिया म्युजिकल एफएममा कार्यरत एकजना पत्रकारले आत्महत्या गरेका छन् । पत्रकार रविन्द्र प्रजापतिले हिजो साँझ आत्महत्या गरेका थिए । कटहरिया नगरपालिकाको खानेपानीको विषयमा फेसबुकमा स्टाटस लेखेपछि कटरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले उनीसहित सागर ठाकुरलाई गाली गलोज गर्नुका साथै कुटपिट गरेका थिए । त्यस यता उनी तनावमा रहेको पारिवारिक सदस्यहरूले बताएका छन् । मेयर जयसवालले धम्की दिएपछि तत्कालै नेपाल पत्रकार महासङ् रौतहट शाखा र प्रेस चौतारी रौतहटले घटनाको निष्पक्ष छानबिनको माग गर्दै धम्की दिने मेयर जयसवाल माथि कारबाहीको माग गरेका थिए । मृतक प्रजापतिका साथी तथा आफन्तहरूका अनुसार उनी मेयरको धम्की पछि घरमै बस्ने र घरबाट बाहिर ननिस्किने एकोहोरो जस्तो भएका थिए । मृतक प्रजापतिको सब पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । मेयरकै कारण प्रजापतिले ज्यान गुमाएको भन्दै यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।