रौतहट, ४ साउन । रौतहटको वृन्दावन नगरपालिका अन्तर्गत बलेरीस्थित भोटेटोल घाटमा टेण्डरमार्फत गरिएको खोलाजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ठेकेदार श्रमिकको ज्याला नदिई फरार भएका छन्।

नगरपालिकाले सार्वजनिक टेण्डर प्रक्रियामार्फत भोटेटोल घाटको ठेक्का दिएको श्रीराम निर्माण सेवा कम्पनीका सञ्चालक राम विनोद पटेलमाथि स्थानीय श्रमिकहरूको मजदुरी नतिरेको गम्भीर आरोप लागेको हो।

ठेक्का हात पारेपछि पटेलले बलेरीकै केही युवाहरुलाई मासिक २० हजार रुपैयाँको दरले खोलाबाट निकालिएको नदि जन्य पदार्थको रसिद काट्ने काममा लगाएका थिए। तर काम सम्पन्न भएपछि श्रमिकहरूलाई तलब नदिई पटेल सम्पर्कविहीन भएको पीडितहरूले गुनासो गरेका छन्।

स्थानीय जितेन्द्र ठाकुरले चार महिना काम गरे पनि १७ हजार रुपैयाँ मात्र पाएको बताउँदै भने, “नदी बन्द भएको एक महिनाभन्दा बढी भइसक्यो, तर हाम्रो रगत–पसिनाको कमाइ खोसेर ठेकेदार भागेका छन्। फोन गर्दा कहिले उठाउँदैन, कहिले भोलि भन्छ।”

यसैगरी अर्का श्रमिक सञ्जय सहनीले पनि १० दिन काम गरेबापतको ज्याला नपाएको दुःख व्यक्त गर्दै भने, “हामी जस्ता श्रम गरेर खानेको पैसा नदिने श्रीराम निर्माण सेवाजस्तो कम्पनीलाई तत्काल कालोसूचीमा राखेर सरकारले कारबाही अगाडि बढाउनुपर्छ।”

यस विषयमा बुझ्न तराई एक्सप्रेसको टोलीले पटक–पटक ठेकेदार राम विनोद पटेललाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन निरन्तर बन्द देखिएको थियो।

पीडितहरू न्यायको पर्खाइमा छन् भने स्थानीय तह र सरोकारवाला निकायहरू यसबारे मौन छन्।