सर्लाही, ६ साउन । सर्लाही जिल्लामा अहिले खानेपानी र सिंचाइको चरम अभाव देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । सो पार्टीको जिल्ला संयोजक सरोज बानियाँको नेतृत्वमा प्रशासनलाई बुझाइएको उक्त ज्ञापनमा मानव जीवनसँगै कृषिमा प्रत्यक्ष असर पार्ने गरी खानेपानी र सिंचाइ अभाव भएको जनाइएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, “खानेपानी मानव जीवनको अत्यावश्यक हिस्सा हो । पानी बिना कुनै पनि जीवको परिकल्पना गर्न सकिँदैन । तर हाल सर्लाही जिल्लामा लामो समयदेखि पानीको चरम अभाव छ ।” यसका कारण स्थान–स्थानमा गम्भीर सरसफाइ समस्या देखिन थालेको र रोगको प्रकोप बढ्ने जोखिम रहेको पार्टीको भनाइ छ ।
सिंचाइ नहुँदा बर्खे धानबाली सुक्न थालेको र किसानहरू आक्रोशित हुन थालेको उल्लेख गर्दै रास्वपाले प्रदेश सरकार र संघीय सरकारको तत्काल ध्यानाकर्षण गराएको छ । “धान रोप्ने समय सकिएको छ, तर अझै खेतमा पानी पुग्न सकेको छैन । सिंचाइका लागि प्रयोग हुने अधिकांश मर्मतविहीन स्रोतमार्फत पानी आपूर्ति ठप्प छ,” ज्ञापनमा उल्लेख गरिएको छ ।
पार्टीले सर्लाहीको सन्दर्भमा तत्कालीन समाधानको उपाय खोज्न आग्रह गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्रदेश जलस्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित निकायले जिम्मेवारीपूर्वक पहल गर्न माग गरेको छ ।
ज्ञापनमा खानेपानी संकटका साथै जिल्लाको कुल कृषिउपज संकटमा पर्ने अवस्था आएको भन्दै स्थानीय प्रशासनलाई समस्या समाधानका लागि अगुवाई गर्न समेत अनुरोध गरिएको छ ।