हिमाञ्चल, ६ साउन ।
हिमाचल प्रदेशमा सम्पन्न एक अनौठो विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ। उक्त तस्बिरमा एउटी बेहुलीलाई दुई दुलहासँगै उभिएको देखिन्छ—र ती दुवै बेहुला आपसमा साँचो दाजुभाइ हुन्।

बेहुलीले दुवैसँगै विवाह गरेकी हुन्। उनीहरू हट्टी समुदायका हुन्, जहाँ हजारौं वर्षदेखि दाजुभाइहरूले एउटै युवतीसँग विवाह गर्ने परम्परा रहिआएको छ।

यद्यपि अहिले धेरैले यो प्रथालाई नमान्ने गरेका छन्, तर हालै भएको यो विवाहले पुरानो परम्परालाई पुनर्जीवित गर्दै समाजलाई चकित बनाएको छ।

भारतमा बहुपति प्रथाको इतिहास महाभारत कालसम्म पुग्छ, जहाँ पाँच पाण्डवले एउटै द्रौपदीसँग विवाह गरेका थिए। आज पनि हिमाचल प्रदेश र उत्तराखण्डका केही पहाडी क्षेत्रमा यो प्रथा जीवित छ।

उत्तराखण्डको जौनसार-बावर, हिमाचलको किन्नउ र सिरमौर जिल्लाको गिरिपार क्षेत्रमा यस्तो चलन अझै प्रचलनमा छ।

केन्द्रीय हट्टी समितिका महासचिव कुन्दनसिंह शास्त्रीका अनुसार, खेतीयोग्य जमिन टुक्रिन नदिन यो परम्परा सुरु भएको थियो। उनले भने, “जज्दा प्रथाले संयुक्त परिवारमा भाइचारा र आपसी समझदारी गहिरो बनाउँछ।”

हट्टी समुदायलाई अनुसूचित जनजातिको दर्जा प्राप्त छ र बहुपति विवाहलाई ‘जोडिदारा’ भनिन्छ। गाउँ स्तरमा यो परम्परागत विवाहलाई ‘जज्दा’ भनिन्छ, जसमा ‘सिंज’ अनुष्ठान अन्तर्गत विवाहका सबै क्रियाकलाप गरिन्छन्।

सिरमौर जिल्लाको गिरिपार क्षेत्रको शिल्लाई गाउँमा हालै भएको विवाहमा शिक्षित दाजुभाइ प्रदीप र कपिल नेगीले सुनिता चौहानसँग परम्परागत ढंगमा तीन दिनसम्म धुमधामले विवाह गरे। एक जना जलशक्ति विभागमा कार्यरत छन् भने अर्का विदेशमा काम गर्छन्।

सयौं पाहुनाको उपस्थितिमा सम्पन्न विवाहमा लोकगीत, नृत्य र परम्परागत संस्कृतिको झल्को देखिएको थियो।

मिडिया रिपोर्टहरूका अनुसार, पैतृक सम्पत्तिको बाँडफाँड टार्न यो बहुपति परम्परा जोगाइने गरिएको छ। यद्यपि महिलाको सम्पत्ति अधिकारसम्बन्धी विषय आदिवासी समुदायभित्र अझै विवादास्पद छ।