रौतहट, १० साउन । लगातारको खडेरीका कारण रौतहटको चन्द्रपुर नगरपालिका–२ मा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । स्थानीय धाराहरू सुक्न थालेसँगै दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन बासिन्दाहरूलाई समस्या भएको छ ।
पानीको यो चरम अभावलाई मध्यनजर गर्दै संघीय र मधेस प्रदेश सरकारले मधेस क्षेत्रलाई सुखाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यही सन्दर्भमा चन्द्रपुर नगरपालिकाले अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालको सहकार्यमा निःशुल्क शुद्ध खानेपानी वितरण सुरु गरेको छ।
चन्द्रपुर–२ को जोगी टोलमा आयोजित विशेष कार्यक्रममा ३० भन्दा बढी प्रभावित घरपरिवारलाई सुरक्षित र शुद्ध पानी वितरण थालिएको हो। स्थानीय स्रोत पूर्णरूपमा सुक्दा पनि पीडित परिवारहरूलाई प्राथमिकतामा राखेर पानी आपूर्ति थालिएको आरडिसी नेपालकी फिल्ड सुपरभाइजर ज्योति फुयालले जानकारी दिइन्।
नगरप्रमुख सञ्जय कुमार काफ्लेको पहलमा सुरु भएको यो अभियान “पूर्वानुमानमा आधारित आपतकालीन प्रतिकार्य परियोजना” अन्तर्गत सञ्चालनमा ल्याइएको हो। प्रमुख काफ्लेले भने, “संकटकालीन अवस्थामा नागरिकको आधारभूत आवश्यकताको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो। पानीको अभावले चन्द्रपुरका बासिन्दा थप समस्यामा नपरोस् भनेर यो अभियान तुरुन्त कार्यान्वयनमा ल्याएका हौँ।”
पानी वितरणको सफल परीक्षणपछि कार्यक्रमलाई अन्य संकटग्रस्त टोलहरू थारुटोल, बलम्पाकी टोल, सिमनी टोल, नर्सरी टोल, कार्की टोल, कलटोल, रैया टोल, सिरानटोल र कछरिया टोलमा विस्तार गरिने कार्यक्रम संयोजक चिरञ्जीवी महतोले जानकारी दिए।
योजना अनुसार ती टोलहरूमा हजार लिटर क्षमताका पानी ट्याङ्कीहरू जडान गरिनेछ र तीमार्फत नियमित रूपमा शुद्ध पानी आपूर्ति गरिनेछ।
ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले रौतहटका अन्य पालिकाहरूमा पनि यस्तै पानी संकट रहेको बताउँदै भने, “हाल हामी चन्द्रपुरमा काम गरिरहेका छौँ। आवश्यकता अनुसार स्रोत र सहकार्य जुटाएर यो कार्यक्रम जिल्लाभर विस्तार गर्ने तयारीमा छौँ।”
सहकार्यमा आधारित यो अभियानले संकट व्यवस्थापनमा स्थानीय सरकार र गैरसरकारी क्षेत्रबीचको समन्वय कति प्रभावकारी हुनसक्छ भन्ने सशक्त उदाहरण प्रस्तुत गरेको छ। लगातारको खडेरीबाट सबैभन्दा बढी प्रभावित भएका पिँधका समुदायलाई शुद्ध पानीजस्ता आधारभूत सेवामा पहुँच गराउनु राज्य र समाज दुवैको साझा दायित्व भएको सन्देश यसले दिएको छ।








