रौतहट,१० साउन । राैतहटको माधवनारायण नगरपालिका–८ मा भएको यौन दुर्व्यवहारको घटनालाई मिलाउन खोजिएको आरोप लागेको छ। शुक्रबार राति १२:३० बजेतिर छिमेकीको घरमा पसेर एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३५ वर्षीय स्थानीय पसिन्द्र कुसवाहा पक्राउ परेका छन्। उनलाई घटनापछि स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरा रजबडामा बुझाएका थिए।
तर, घटनालाई दबाउन र मिलापत्र गराउने प्रयास भइरहेको स्थानीयवासीहरूले बताएका छन्। उनीहरूका अनुसार आरोपित पक्षले पीडित परिवारलाई दबाब दिने र आर्थिक प्रलोभन देखाउने प्रयास गरिरहेको छ।
इलाका प्रहरी कार्यालय रजबडामा पीडक पक्षसँग मिलापत्र सम्बन्धी छलफलसमेत भइरहेको खुलेको छ। घटनाबारे थप जानकारी लिन खोज्दा प्रहरी सहायक निरीक्षक महेश सिंहले भने, “घटनाको वास्तविकता पीडित यादव थरकी महिलासँग विस्तृत बयान लिएपछि मात्र स्पष्ट हुन्छ।”
स्थानीय स्तरमा पीडितलाई न्याय दिलाउनुपर्ने आवाज उठ्न थालेको छ भने प्रहरी कार्यालयको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्।








