रौतहट, साउन १० ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीय किशोरको ज्यान गएको छ । जल चढाउने क्रममा नदीमा डुबेका किशोरको शव शनिबार फेला परेको हो ।

मृत्यु हुनेमा भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको ग्राम जमुआहा–१, पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेका छन् ।
शुक्रबार साँझ झण्डै ७ बजेतिर नदीमा जल लिने क्रममा डुबेर बेपत्ता भएका उनलाई खोजी गर्दा शनिबार बिहान सवा १० बजे झोलुङ्गे पुल नजिकै, घटनास्थलबाट करिब १५० मिटर दक्षिणमा तैरिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरमा परिवारले शनिबार बिहान पवन बेपत्ता भएको जानकारी गराएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य थालेको थियो । शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रत्येक वर्ष धार्मिक उद्देश्यले जल लिन आउने भक्तजनको संख्यासँगै नुनथर क्षेत्र डुबेर मृत्यु हुने जोखिमयुक्त बन्दै गएको स्थानीयको गुनासो छ । पानी गहिरो हुने स्थानमा स्पष्ट चेतावनी, सुरक्षा प्रबन्ध र जनचेतनामूलक पहल नहुँदा यस किसिमका दुःखद घटनाहरु दोहोरिँदै आइरहेको छ ।