बिजयपुर,२६ साउन ।
फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको मिलेमतोमा करोडौं रुपैयाँको भ्रष्ट्राचार भएको तथ्य बाहिरिएको छ । विभिन्न स्रोत र कागजातका आधारमा दुबै जनाले पदको दुरुपयोग गर्दै नियमविपरीत निर्णय, गैरकानूनी नियुक्ति र बजेट दुरुपयोगमार्फत ठूलो आर्थिक हिनामिना गरेको पुष्टि भएको छ ।
गत आव २०८१÷०८२ मा योजना प्रमुख बिल्लुराय यादवलाई हटाई, कार्यालय सहयोगी रामशंकर यादवलाई सहायक कम्प्युटर अपरेटरमा पुनः नियुक्त गर्दै रातारात योजना शाखा प्रमुखको जिम्मा दिइयो । कुनै औपचारिक प्रक्रिया नै नअपनाई गरिएको यो निर्णयले योजना शाखाको सम्पूर्ण बजेट तहसनहस भएको फतुवा बिजयपुर–१ का समाजसेवी अवधेशकुमार यादवको दाबी छ ।
यसो मात्र होइन, कार्यालयमा आधिकारिक ड्राइभर हुँदाहुँदै अतिरिक्त ड्राइभर र ७० वर्षीय बद्री थापा, स्वास्थ्यकर्मी परमेश्वर यादवसहित ४–५ जनालाई गैरआवश्यक नियुक्ति दिइएको बताइन्छ ।
यसले सरकारी गाडीको अनावश्यक प्रयोग, पेट्रोल–डिजल, खाना–खाजा भत्ता र तलब भुक्तानीमार्फत नगरपालिकामा थप आर्थिक बोझ थोपरेको हो ।
योजनाबाहेक दैनिक ४० किलोमिटर सरकारी गाडी चलाइने, साथै निजी गाडी र बाराका नम्बर प्लेट भएका सवारीलाई समेत दैनिक १००–२०० लिटर पेट्रोल–डिजल कुपन वितरण गरिएको प्रमाण फेला परेको अवकाशप्राप्त सई रामानन्द यादवको भनाइ छ ।
इ–बिल्डिङ्गका लागि पहिलाको सप्लायरबाट औषधि खरिद गर्दा नियमविपरीत मूल्यवृद्धि मात्र होइन, टेन्डर प्रक्रियामा बचत भएको ७१ लाख रुपैयाँलाई पुनः त्यही सप्लायरबाट औषधि र सेनेटरी प्याड खरिद गर्दै अनावश्यक खर्च बढाइएको आरोप पनि उनले लगाए ।
पूर्व सई यादवका अनुसार हालसम्म फतुवा बिजयपुरमा आएका सिईओमध्ये सबैभन्दा बढी भ्रष्ट्राचारमा मुछिएका भरत यादव हुन्। यादवले कावा मेयर खातुनसँग मिलेर अधिकांश कार्यक्रम बाराको निजगढ, सिमरा र कलैयामा सञ्चालन गरेका छन् । चेतनामूलक कार्यक्रमको नाममा बाराकै तीनवटा एनजिओलाई १ करोड रुपैयाँभन्दा बढी रकम छुट्याइएको दाबी पनि गरियो ।
यस विषयमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा सिईओ यादवले ‘केही मानिसलाई दैनिक ज्यालादारीमा राखेको मात्र हो’ भन्दै आरोपको खण्डन गरे । ‘आउनुस न बसेर कुरा गरौंला’ भन्दै उनले अन्य प्रश्न पन्छाए । कावा मेयर खातुनले भने सम्पूर्ण आरोप अस्वीकार गर्दै आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिइन् ।
२०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको टिकटबाट मेयरमा गोपालप्रसाद यादव, उपमेयरमा अम्बेया खातुनसहित ७ वडा अध्यक्ष निर्वाचित भएका थिए । २०७० सालमा विशेष अदालतबाट दोषी ठहर भएपछि तत्कालीन मेयर यादव पदबाट हटेपछि उपमेयर खातुन कार्यवाहक मेयर बनेकी थिइन् । त्यसयता बजेट भागबण्डामा अल्झिने र नगरसभा ढिल्याउने काम बढेको स्थानीयको आरोप छ । स्थानीय तहमा यस्तो मिलेमतोले योजनाको गुणस्तर मात्र होइन, जनताको विकास–आशामा ठुलो चोट पु¥याउने र सरकारी स्रोतको दुरुपयोगमार्फत आर्थिक अनुशासनमा गहिरो आघात पु¥याउने देखिएको छ । अख्तियार वा सम्बन्धित निकायले छानबिन नगरेसम्म यस्ता घटना दोहोरिन सक्ने खतरा उच्च रहने स्थानीय बिजय यादवले चेतावनी दिए ।
गत असार १० गते हुनुपर्ने नगरसभा अहिलेसम्म हुन सकेको छैन । चार दिन अघि आएको मन्त्रालयको टोलीले जनप्रतिनिधिहरूसँग छलफल गरी ३० गते नगरसभा गर्ने सहमति भए पनि, बजेट भागबण्डाको विषयमा पटक–पटक अड्किने नगरसभा यो पटक सफल हुन्छ कि हुँदैन — हेर्न बाँकी छ । २०८२ साउन २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार