गौर,३१ साउन । पछिल्लो समय रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएका अनियमितता र भ्रष्टाचारका समाचारहरू एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि सो नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू तिलमिलाएका छन्। भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको आरोप खेपिरहेका स्थानीय जनप्रतिनिधिहरूले पत्रकारलाई नै दोष थोपर्ने, डर देखाउने र दवाव दिने प्रवृत्ति सुरु गरेका छन् ।
शुक्रबार साँझ सो नगरपालिकाकी कार्यवाहक मेयर अम्बिया खातुनका छोरा मोहम्मद सनाउल्लाहले प्रेस चौतारी नेपाल रौतहटका उपाध्यक्ष तथा पत्रकार कृष्ण तिवारीमाथि दुव्र्यवहार गरेका छन्। “मेरो आमाविरुद्ध किन समाचार लेखेको?” भन्दै सनाउल्लाहले पत्रकार तिवारीमाथि गालीगलौज गरेका थिए। तिवारीका अनुसार, उनले हातपात गर्ने प्रयास समेत गरे तर सफल नभएपछि अपशब्द प्रयोग गर्दै धम्क्याउने काम गरेका हुन् । पत्रकार तिवारीले भने, “यो केवल ममाथिको मात्र आक्रमण होइन, यो अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला प्रहार हो। भ्रष्टाचारको समाचार बाहिर ल्याउने पत्रकारलाई यस्तो दवाव दिइनु लोकतान्त्रिक मूल्य र पत्रकारिताको आत्मामाथि चोट हो ।”
फतुवा विजयपुर नगरपालिकामा इन्धन खर्चदेखि यातायात भुक्तानीसम्म, सार्वजनिक खरिद प्रक्रिया र विकास बजेटको वितरणसम्ममा अनियमितता भएको विभिन्न सञ्चार माध्यमहरूले निरन्तर खबर सार्वजनिक गर्दै आएका छन् । तराई एक्सप्रेस दैनिक लगायतका पत्रपत्रिकाले पछिल्लो केही महिनादेखि दैनिक जसो सो नगरपालिकाका भ्रष्टाचारका समाचारहरू छाप्दै आएका छन् । भ्रष्टाचारका प्रमाण सार्वजनिक हुँदै गएपछि जनप्रतिनिधि र कर्मचारीहरू चर्को दबाबमा परेका छन् । तीन दिनअघि मात्र नगरपालिकाले केही पत्रकारलाई रकम दिएर आफ्नो पक्षमा समाचार लेखाउने प्रयास गरेको खुलेको छ । यसरी पैसाको लोभ देखाएर पत्रकारिताको नैतिकता भंग गर्ने प्रयासले स्थानीय तहको चरित्र अझ स्पष्ट बनाएको छ ।
स्थानीयवासीहरूका अनुसार, जनप्रतिनिधिहरूले नगरपालिकालाई आफ्नै सम्पत्ति जस्तो व्यवहार गर्दै आएका छन् । सार्वजनिक बजेट पारदर्शी नभएर, योजनाहरू कागजमै सीमित हुने र ठेक्का प्रक्रियामा मिलेमतो हुने आरोप पटक–पटक लाग्दै आएको छ । तर यस्ता विषय सार्वजनिक गर्दा उल्टै समाचार लेख्ने पत्रकारलाई लक्षित गरेर अपमान, धम्की र आक्रमण गर्नु जनताको आँखामा धुलो हाल्ने प्रयास मात्र भएको उनीहरूको टिप्पणी छ ।
प्रेस चौतारी नेपाल रौतहटले यो घटनाको तीव्र भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । संगठनका प्रतिनिधिहरूले पत्रकारलाई डर देखाउने प्रवृत्ति रोकिनुपर्ने, पत्रकारिताको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्न राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् । स्थानीय तहमा भएको अनियमितता र भ्रष्टाचार उजागर गर्नु पत्रकारको जिम्मेवारी हो भन्नेमा उनीहरू एकमत छन्। तर, भ्रष्टाचारको समाचार लेख्ने पत्रकारलाई नै दण्ड दिन खोज्ने संस्कार लोकतन्त्रका लागि खतरनाक सङ्केत भएको उनीहरूको चेतावनी छ ।