रौतहट, चन्द्रपुर —
चन्द्रोदय साकोसले आफ्ना महिला सदस्यहरूका लागि हरेक वर्षझैं यस वर्ष पनि तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रपुर–४ स्थित गोल्डेन पाटी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा झण्डै ६०० महिला सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बसन्त आचार्यले गरेका थिए। प्रमुख अतिथि चन्द्रपुर नगरपालिका उपप्रमुख जयमाला चौधरी, विशिष्ट अतिथि रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेल, राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापा, चार्टर्ड एकाउन्टेन्ट एकराज सिग्देल तथा स्थानीय संचारकर्मीहरूको उपस्थितिमा अतिथिहरूले तीज पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा महिला सदस्यहरूलाई “चन्द्रोदय माइती” बनी दर खुवाइने, नाचगान प्रस्तुत गराइने लगायतका मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो। स्वागत मन्तव्य लेखा समिति सदस्य चन्द्रकला प्याकुरेलले गरेकी थिइन् भने सञ्चालन उपाध्यक्ष रामशरण गौतम र शिक्षा उपसमिति सदस्य उमा शाक्यले गरेका थिए।

नृत्य प्रतियोगितामा चन्द्रपुर–४ निवासी सेयर सदस्य रंजिता मल्ल प्रथम, चन्द्रपुर–५ निवासी रुपा श्रेष्ठ दोस्रो तथा चन्द्रपुर–४ की सुप्रीया ढकाल तेस्रो भएकी छन्। त्यस्तै सान्त्वना पुरस्कार लक्ष्मी दाहाल, सुवर्ण खाती, रत्ना घिसिङ, दिपा उपाध्याय र विमला नेपालीले प्राप्त गरेका छन्।

कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको संस्थाले जनाएको छ।