गौर,९ भदौ । शनिबार साँझ ठीक ६ बजे ।
फोनको घण्टी बज्यो—
“आमा, बजारबाट के ल्याउँ ?”
“छोरी, केही ल्याउनु पर्दैन, सबै छ ।”
यो सामान्य संवाद कसैले पनि आमा–छोरीबीचको अन्तिम कुराकानी बन्नेछ भनेर सोचेका थिएनन् ।
बजारतिर हिँडेकी रुबी कहिल्यै फर्किइनन्
माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ डेराबाट बाहिर निस्किइन्। तर, उनी फर्केर आइनन् ।
रातको अन्धकारपछि आइतबार बिहान गौर–सिरसिया सडकखण्ड, मुडवलवा गेट नजिकै एउटा ठूलो निलो सुटकेस भेटियो। सुटकेस डोरीले कस्सिएको थियो। स्थानीयले खोलेर हेर्दा भित्र खुम्च्याइएको अवस्थामा रुबीको शव देखियो । यससँगै सामान्य दिन भयावह अपराधकथामा बदलियो ।
प्रहरीका अनुसार शवमा गम्भीर बाह्य चोटपटक थिएन। तर नाकबाट रगत बगेको, हातखुट्टा पट्याएर खुम्च्याइएको अवस्थामा सुटकेसभित्र शव हालिएको थियो ।
“यस्तो शैलीमा शव प्याक भएको घटना पहिलो पटक देखियो । प्रारम्भिक अध्ययनले यो साधारण हत्या नभई योजनाबद्ध अपराध हो भन्ने देखाउँछ ।”
शव भेटिएको स्थानमै रुबीको कपडा भेटियो तर मोबाइल फोन फेला परेन । प्रहरी अनुमान अनुसार मोबाइल हत्यापछि लगिएको वा नष्ट गरिएको हुन सक्छ ।
मोबाइलको लोकेशन गौर आसपासमै देखिएको तर त्यसपछि अचानक अफ भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । यसले रुबीलाई गौरमै देखिएपछि अन्यत्र लगिएको शंका बढाएको छ ।
घटना स्थल नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर दूरीमा पर्छ । शव सीमा नजिकै भेटिनुले अर्को प्रश्न उब्जाएको छ—
के रुबीको हत्या भारतमा गरेर शव नेपाल ल्याइयो ? कि नेपालमै योजनाबद्ध हत्या गरेर सीमामा फालियो ? प्रहरीले अहिलेसम्म वरपरका सीसीटीभी फुटेज संकलन गरिरहेको छ भने मृतकका श्रीमान्, आमा र भाइको बयान लिएको छ ।
रुबीको विवाह पाँच वर्षअघि भारतको मुजफ्फरपुर निवासी शिव सागर साहसँग भएको थियो । हाल उनी गौर–२ महादेवपट्टीस्थित माइती र छोरासँगै डेरामा बस्दै आएकी थिइन् ।
मोबाइल हराउनु, शवलाई सुटकेसभित्र प्याक गर्ने शैली, सीमा नजिक शव भेटिनु—यी सबै तथ्यले प्रहरीलाई साधारण अपराधभन्दा फरक दिशामा अनुसन्धान गर्न बाध्य पारेको छ ।
प्रहरीले हाल डिजिटल प्रमाण, पारिवारिक पृष्ठभूमि र सम्भावित सम्बन्धलाई केन्द्रीत गर्दै अनुसन्धान अगाडि बढाएको छ ।








