गौर,९ भदौ । रौतहटको यमुनामाई गाउँपालिकामा व्यापक अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै वडाध्यक्ष आमरण अनसनमा बसेका छन् । यमुनामाई गाउँपालिका–२ का वडाध्यक्ष सीताराम यादवले गत बुधबारदेखि गाउँपालिका कार्यालय अगाडि आमरण अनसन सुरू गरेका हुन् । आइतबारसम्म आइपुग्दा उहाँको अनसन पाँचौँ दिनमा प्रवेश गरेको छ ।
१३ बुँदे मागसहित अनसनमा बसेका वडाध्यक्ष यादवको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको छ । चिकित्सकको सल्लाहमा अहिले उहाँलाई सलाइन दिइएको छ । तर पनि माग पूरा नभएसम्म अनसन तोड्ने सोच नरहेको उहाँको अडान छ ।
पारदर्शिता र जवाफदेहिताको माग
वडाध्यक्ष यादवले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मका गाउँसभा निर्णय, कार्यपालिकाको बैठक माइनुट, रातोकिताब, विभिन्न शीर्षकमा विनियोजित बजेट, अनुदान वितरण, सम्पूरक र विशेष कार्यक्रमलगायतका विवरण सार्वजनिक गर्नुपर्ने अडान राखेका छन् । साथै सम्पूर्ण खाताको बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदन उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
त्यस्तै गाउँपालिकामा स्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत सबै तहका कर्मचारीको नियुक्तिपत्र, जिन्सी सामानको विवरण, स्कारपियो, मोटरसाइकल, साइकलदेखि जेसिबी प्रयोग र त्यसमा खर्च भएको इन्धन तथा मर्मतसम्बन्धी कागजात पनि उनले माग गरेका छन् ।
प्रणालीगत सुधारको माग
यमुनामाई गाउँपालिकामा अनलाइन टेन्डर, अनलाइन बैठक र अनलाइन बिडिङ प्रणाली तत्काल लागू गर्नुपर्ने, सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यम शिक्षा लागू गर्नुपर्ने, गाउँपालिका स्तरीय अस्पताल स्थापना गर्नुपर्ने लगायतका माग राखिएका छन् । साथै गाउँपालिका भरिका प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको मागपत्रमा उल्लेख छ । त्यस्तै कृषि विद्युतीकरणका लागि पोल, तार र ट्रान्सफर्मरको तत्काल व्यवस्था गर्नुपर्ने, विद्युत महसुल फ्रि गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने व्यवस्थापन गर्नुपर्ने मागसमेत राखिएका छन् ।
अवैध सभा खारेज गर्न दबाब
गाउँपालिकाको नवौँ गाउँसभा अवैधानिक तरिकाले गराइएको भन्दै त्यसलाई खारेज गरी पुनः विधिवत गाउँसभा गर्नुपर्ने, यसअघि टिएडिए र आर्थिक सहयोग पाउनेहरुको नामावलीसहितको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनुपर्ने वडाध्यक्ष यादवको अडान छ ।
“जनप्रतिनिधि र जनताले पाउने कानुनी सुविधा पारदर्शी ढंगले उपलब्ध गराइएन भने गाउँपालिकाको विश्वासनीयता गुम्छ,” अनसनस्थलमै वडाध्यक्ष यादवले भन्नुभयो, “माग पूरा नभएसम्म यो आमरण अनसन जारी रहनेछ ।”








