रौतहट,१२ भदौ । रौतहटको माधोपुरका रुबि साह र लक्ष्मण पासवान एउटै गाउँका थिए । विद्यालय जीवनमै उनीहरूबीच प्रेम अंकुरित भयो । कक्षा १० मा पढ्ने उमेरमै दुबै जनाले घरपरिवारको अवज्ञा गर्दै भागेर विवाह गरे—त्यो पनि कोर्ट म्यारिजमार्फत । तर, यो प्रेमकथा सुखद होइन, शोकान्त भयो ।
पहिलो मोड : अपहरणको आरोप
करिब १४ वर्षअघि लक्ष्मणले रुबिलाई भगाएर भारत लगेका थिए । त्यतिबेला रुबिको उमेर मात्र १४ वर्ष थियो । परिवारले छोरी हराएको भन्दै लक्ष्मणसहित तीन जनाविरुद्ध अपहरणको मुद्दा चलायो। प्रहरीले लक्ष्मणलाई अपहरण, शारीरिक बन्धक र मानव बेचबिखन मुद्दामा पक्राउ गरेर १७ दिनसम्म हिरासतमा राख्यो । रुबिलाई लक्ष्मणबाट छुटाएर परिवारले भारत बिहारमै अर्को केटासँग विवाह गराइदियो । त्यसपछि लक्ष्मणले पनि अर्को विवाह गरे र बैदेशिक रोजगारीमा गए ।
फेरि भेटघाट : अधुरो माया
लामो अन्तरालपछि दुबै आ–आफ्नो बाटो लागेका भए पनि माया भने मरेन । केही दिन पहिला विदेशबाट फर्किएका लक्ष्मणले गौरमा डेरा लिएर बस्न थाले । रुबि पनि आमासँग त्यही डेरामा बस्न थालिन् । बेला–बेला भेट हुने क्रम चलिरह्यो । गएको भदौ ७ गते साँझ रुबि लक्ष्मणकै डेरामा पुगिन् । दुबैबीच वादविवाद भयो । भावनाको चरम अवस्थामा दुबै जनाले “अब बाँच्दैनौँ, संगै मर्छौँ” भन्ने निर्णय गरे । तर, पहिला को मर्ने भन्ने विवाद बढ्दै गएपछि झगडा हिंस्रक बन्यो । आवेशमा आएका लक्ष्मणले रुबिको घाँटी थिचे । रुबिको मृत्यु भयो ।
सुटकेसमा शव
मृत्यु भएको थाहा पाएपछि लक्ष्मण छटपटाए । विदेशबाट ल्याएको ठुलो सुटकेसमा रुबिको शव राखे । एक डाफे (ई–रिक्सा) बोलाएर शव बोकेर लैजाने प्रयास गरे। तर, बरहवा पुल नजिकै रिक्साको टायर पंक्चर भयो । रिक्सावालाले अर्को रिक्सा बोलाउँछु भने पनि लक्ष्मणले नमाने । उनले मृत शरीर भएको सुटकेस मुस्किलले घिसार्दै लगे । भोलिपल्ट आइतबार बिहान, गौरमा सुटकेसभित्रै रुबिको शव फेला पर्यो । यो समाचार फैलिँदै जाँदा सामाजिक सञ्जाल ततायो ।
लक्ष्मणको आत्मदाह प्रयास
प्रहरीले घटनास्थल अनुसन्धान गर्दा लक्ष्मणको कोठामा रुबिको चप्पल फेला प¥यो । त्यसपछि प्रहरी लक्ष्मणको खोजीमा लाग्यो ।
तर, बुधबार बिहान माधवनारायण नगरपालिका–६ को धान खेतमा एक जना युवक जलिरहेको अवस्थामा स्थानीयले देखे । प्रहरी घटनास्थल पुग्दा ती आधा जलेका युवक लक्ष्मण नै रहेको खुल्यो ।
गम्भीर घाइते अवस्थामा लक्ष्मणलाई गरुडा अस्पताल ल्याइयो । त्यहीबीच उनले आफै खिचेको करिब ८ मिनेट लामो भिडियो बाहिरियो ।
८ मिनेटको अन्तिम सन्देश
भिडियोमा लक्ष्मणले रुबिको आमालाई मुख्य दोषी ठहराएका थिए । उनका अनुसार रुबिलाई पैसाको लालचमा अरुसँग सम्बन्ध राख्न बाध्य पारिएको थियो । उनले रुबिको देवरले समेत दबाब दिएको र आफ्नी आमाले गाडी–सुन–चाँदीको लोभमा जबर्जस्ती अरुसँग सम्बन्ध बनाएको आरोप लगाएका थिए ।
भिडियोमा लक्ष्मणले भनेका छन्, “हामी दुवै विवाहित थियौँ, तर मनले एक अर्कालाई छाड्न सकेनौँ ।” “म गरिब, दलित भएको कारण हाम्रो प्रेम कहिल्यै सफल भएन ।” “रुबिबिन म एक्लै बाँच्न सक्दिनँ, चाँडै उसको साथमा पुग्छु ।”
भिडियोकै अन्त्यमा उनले आँशु झार्दै आत्महत्या गर्ने संकेत गरेका थिए ।
ट्याटुमा अंकित माया
अस्पतालमा उपचाररत लक्ष्मणको फोटो बाहिरियो । उनको छातीमा दुबैपट्टि रुबिको तस्वीर ट्याटु बनेको थियो। पाखुरामा “माईहर्ट रुबि” लेखिएको थियो । सामाजिक सञ्जालमा उनी “पागल प्रेमी” भनेर चर्चामा आए । तर, उपचारकै क्रममा उनलाई काठमाडौं पठाइए पनि जीवन बचेन ।
प्रेम कि अपराध ?
रुबि साह र लक्ष्मण पासवानको प्रेमकथा सुरुवातमा विद्यालयको किशोर उमेरको मासूम प्रेम थियो ।
तर, समयसँगै परिवारको दबाब, जातीय विभेद, आर्थिक असमानता र समाजको दृष्टिले त्यो प्रेमलाई स्वीकारेन । अन्ततः दुबै जनाको जीवन त्रासदीपूर्ण रुपमा टुंगियो । यो कथा केवल दुई व्यक्तिको व्यक्तिगत दुर्घटना मात्र होइन, हाम्रो समाजको गहिरो समस्या—जातीय विभेद, गरिबी, असमानता र गलत अभिभावकिय हस्तक्षेपको ज्वलन्त चित्र हो ।