रौतहट,२५ भदौ ।
हिजो भएको जेन जी आन्दोलनले रौतहटको चन्द्रपुरलाई ध्वस्त बनाएको छ । आन्दोलनकारीले गरेको आगजनी र तोडफोडका कारण सरकारी कार्यालयका ठूला–ठूला भवन खण्डहरमा परिणत भएका छन् ।
आज बिहानैदेखि क्षतिग्रस्त भवन र जलेका सम्पत्तिहरू हेर्न मानिसहरूको भिड लागेको छ । चन्द्रपुर नगरपालिका, डिभिजन वन कार्यालय, सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालयलगायतका भवनहरू जलेर खरानी भएका छन् ।
आन्दोलनकारीहरूले सरकारी कार्यालय मात्र होइन, संघीय सांसद देवप्रसाद तिमलसिना, प्रदेश सांसद समिर भट्टराई, चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले र सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीको घरमा समेत आगजनी गरेका छन् ।
रातभर सरकारी कार्यालयभित्र रहेका फर्निचर, कागजात र विभिन्न सामग्री लुटपाट भएको स्थानीयले बताएका छन् । तर, कति गाडीमा आगजनी भयो भन्ने एकिन विवरण भने प्रहरीले समेत दिन सकेको छैन ।
आन्दोलनकारीको भिडमा मिसिएको समूहले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरभित्रका सामान समेत लुटेर लगेको स्रोतले जनाएको छ ।
यस घटनापछि चन्द्रपुर क्षेत्र आतंकित बनेको छ भने प्रशासन भने अझै क्षतिको यथार्थ विवरण संकलन गर्ने प्रयासमा लागेको छ ।








