चन्द्रपुर,११ असोज ।
चन्द्रपुर नगरपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको गुनासो गर्दै शुक्रबार नगर प्रमुख संजय कुमार कमफ्लेलाई औपचारिक ज्ञापनपत्र बुझाएका छन्। दशैंको संघारमा समेत पारिश्रमिक नपाएपछि आर्थिक समस्याले पिरोलिएका शिक्षकहरूले आफ्नो पीडा सार्वजनिक रूपमा राख्दै तलब र भत्ताको तत्काल व्यावस्थापन गर्न माग गरेका छन् ।
शिक्षक शत्रुधान साहको अध्यक्षतामा बसेको चन्द्रपुर नगरपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरूको भेलाले यो ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । भेलामा सहभागी शिक्षकहरूले नगरपालिकाले बारम्बार तलब र भत्ता दिन ढिलाइ गर्ने गरेको र यसले शिक्षण कार्यमा प्रत्यक्ष असर पारेको गुनासो गरेका छन् ।
शिक्षकहरूले तलब र भत्ता समयमै नपाउँदा उनीहरूको दैनिकी अस्तव्यस्त भएको बताउँदै गम्भीर प्रश्न उठाएका छन् – “जब हामीलाई नियमित पारिश्रमिक नै पाइँदैन, त्यही अवस्थामा मानसिक तनावका बीच कसरी गुणस्तरीय शिक्षा दिन सक्छौं?”
एक जना शिक्षकले नाम नखुलाउने शर्तमा बताए – “विद्यालयमा काम गरिरहेका हौं, तर महिनौं बित्दा पनि तलबको टुंगो छैन । बैंकको किस्तादेखि लिएर घरको खर्च सबै थला परेको छ । अब त दशैं आउन लाग्यो, घरमा के लिएर जाने ?”
ज्ञापनपत्रमा कार्तिक महिनाबाट प्रधानाध्यापक भत्ता पनि रोकिएको उल्लेख छ। यो अवस्था यथावत् रहेमा सम्बन्धित शिक्षकहरूले उल्टै नगरपालिकालाई सो बराबरको रकम चन्दा दिने घोषणा समेत गरेका छन् – यो व्यङ्ग्यात्मक चेतावनीले शिक्षकहरूको पीडा र आक्रोशलाई झनै स्पष्ट पार्दछ ।
पछिल्लो समय शिक्षकहरू विभिन्न जिल्लाहरूमा आफ्नो मागहरू लिएर आन्दोलनरत छन् । चन्द्रपुरका शिक्षकहरू पनि यदि तत्काल समस्या समाधान नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। “शिक्षकलाई सम्मान होइन, अपमान भइरहेको छ,” उनीहरूको गुनासो छ ।
नगर प्रमुख संजय कुमार कमफ्लेको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आइसकेको छैन । नगरपालिकाले विगतमा पनि बजेट अभाव, लेखा प्रक्रिया र प्रशासनिक ढिलाइलाई कारण देखाउँदै शिक्षकहरूको तलब रोकिँदै आएको छ । तर शिक्षकहरूको भनाइमा अनुसार, यो बारम्बार दोहोरिने प्रवृत्तिले उनीहरूको पेशागत मर्यादामा समेत आँच आइरहेको छ ।
चन्द्रपुर नगरपालिकाभित्रको यो समस्या केवल शिक्षकहरूको निजी समस्या नभई सम्पूर्ण शैक्षिक वातावरण र बालबालिकाको भविष्यसँग जोडिएको गम्भीर मुद्दा हो । तलब र भत्ता जस्तो आधारभूत हकमा कटौती वा ढिलाइ हुनु राज्यको गैरजिम्मेवारीपनको नमूना मान्न सकिन्छ। अब नगरपालिकाले शिक्षकहरूको आवाज सुनेर तलब र भत्ता छिटोभन्दा छिटो उपलब्ध गराउने पहल गर्नेछ कि भन्ने आम नागरिकको चासो र शिक्षक समुदायको पर्खाइ रहेको छ । २०८२ असोज ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।