मौलापुर (रौतहट), असोज १८ ।
मौलापुर नगरपालिका–१ मर्यादपुर क्षेत्र बकैया नदीको बाढीको उच्च जोखिममा रहेको बताइएको छ । हाल नदीको पानीस्तर तीव्र गतिमा बढ्दै गएको र बाढी छिर्ने खतरा बढेको स्थानीयहरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले पनि बकैया नदीमा बाढी बढ्ने सम्भावना रहेको प्रक्षेपण गरे पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै प्रभावकारी कदम नचालेको स्थानीयवासीहरूको गुनासो छ ।

मर्यादपुरका स्थानीय बासिन्दा तथा पत्रकार महासङ्घ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले तराई एक्सप्रेसलाई बताए अनुसार , “बेला मै बाँध मर्मत नगरिए ठूलो जनधनको क्षति हुन सक्छ । सम्बन्धित निकायले तत्काल ध्यान नदिए गम्भीर समस्या निम्तिन सक्छ ।”

स्थानीयहरूका अनुसार नदी किनारका केही ठाउँमा बाँध कमजोर भएकाले तत्काल मर्मत तथा बलियो सुदृढीकरण आवश्यक देखिएको छ । अहिले पनि वर्षा भइरहेकाले स्थिति झन् जटिल बन्न सक्ने अनुमान गरिएको छ ।