रौतहट, १९असोज ।
चन्द्रपुर नगरपालिका–४ र ३ जोड्ने चाँदी खोलामा निर्माणाधीन पुल पटक–पटक म्याद थपिँदा पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । पुल समयमै नबन्दा बर्खायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दाले अत्यधिक सास्ती भोग्नुपरेको छ ।
आज पनि सोही खोलामा बाढी आउँदा एम्बुलेन्स पार गर्न नसक्दा गैँडाटारका स्थानीयवासीले निकै कठिनाइ बेहोर्नु परेको छ । बिरामी बोक्ने स्ट्रेचरको व्यवस्था समेत नहुँदा सुत्केरी महिलालाई अस्पतालबाट घर पुर्याउन नजिकै नेटवर्क मर्मतका लागि प्रयोग हुँदै आएको एल्युमिनियमको भर्याङलाई ‘जुगाड स्ट्रेचर’ बनाएर खोलो पार गराइएको हो ।
स्थानीयहरूका अनुसार पुल निर्माणको कार्य ढिलो हुँदा प्रत्येक वर्ष बर्खायाममा यस क्षेत्रमा यस्तो समस्याको सामना गर्नुपर्दै आएको छ । “पुल बनेको भए यस्तो दुख पाउनु पर्ने थिएन,” एक स्थानीयले भने, “अहिले पनि कहिले एम्बुलेन्स अड्किन्छ, कहिले बिरामी बोक्ने साधन नपाएर यस्तै जोखिमपूर्ण उपाय अपनाउनुपर्छ ।”
पटक–पटक म्याद थपिए पनि निर्माण कम्पनीले अझै काम सकाउन नसक्दा स्थानीय जनजीवन कष्टकर बनेको हो । बर्खाको मौसममा विद्यालय जाने विद्यार्थीदेखि बिरामी र वृद्धवृद्धा सबैलाई खोलो पार गर्न जोखिम मोलेरै आवतजावत गर्नुपर्ने बाध्यता छ ।
स्थानीयले सम्बन्धित निकायसँग शीघ्र पुल निर्माण कार्य सम्पन्न गरी यस्तो मानवीय समस्याको अन्त्य गर्न माग गरेका छन् । पुलको काम तत्काल सुरु नगरे अब सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर विरुद्ध आफूहरू सशक्त आन्दोलनमा उत्रने स्थानीय पत्रकार उपेन्द्र गोलेको भनाइ रहेको छ








