रौतहट,२० असोज ।
तीन दिनदेखिको अविरल वर्षाले मधेश प्रदेशका विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । विशेषगरी रौतहटमा बाढी र चट्याङको कारण ठूलो जनधनको क्षति भएको छ ।

रौतहटमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ भने बाढीका कारण एक जना बेपत्ता भएका छन् । यस्तै, रौतहट, सर्लाही र धनुषामा १–१ जनाको शव बेवारिसे अवस्थामा फेला परेको मधेश प्रदेश प्रहरी प्रमुख एआइजी उमासिंह चतुर्वेदीले जानकारी दिए ।

रौतहटसँगै महोत्तरी, सर्लाही, धनुषा, पर्सा, सर्लाही, सिरहा र सप्तरीका सयौँ घर डुबानमा परेका छन् । बाराबाहेक मधेशका सातवटा जिल्लामा सयौँ घरपरिवार विस्थापित भएका छन् ।

तीनवटै सुरक्षा निकाय — नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोलीहरू उद्धार कार्यमा खटिएका छन् । दर्जनौँ मानिसलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा राहत र उद्धारका काम तीव्र पारिएको प्रहरीका अनुसार जनाइएको छ ।
यस्तै, सबभन्दा जोखिममा रहेको सप्तकोशी नदीस्थित कोशी ब्यारेजको तीनै सुरक्षा निकायका मधेश प्रदेश प्रमुखहरूले स्थलगत निरीक्षण गरेका छन् ।

एआइजी चतुर्वेदीका अनुसार, “सुरक्षा निकायबीच समन्वय गरेर उद्धार कार्य चलाइएकाले मानवीय क्षति नियन्त्रणमा राख्न सकिएको छ।”