रौतहट, ७ कात्तिक ।
मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् कार्तिक ११ गते (मंगलबार) पनि प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो।
उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्तिअनुसार उक्त निर्णय २०८१ चैत २२ गते प्रकाशित “प्रदेश राजपत्र”मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने माग बढ्दै गइरहेको बेला प्रदेश सरकारले यो निर्णयमार्फत आंशिक रूपमा त्यस मागको सम्बोधन गरेको हो।
यससँगै मधेस प्रदेशका सबै सरकारी कार्यालय, विद्यालय तथा अन्य निकायहरू मंगलबार बन्द रहनेछन्।
छठ पर्व विशेषगरी मिथिला क्षेत्रमा हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी धूमधामका साथ मनाउने गर्छन्।








