राैतहट,७ कार्तिक /

राैतहटको गुजरा नगरपालिकामा लामो समयदेखि सामाजिक सुरक्षा भत्ता वितरण नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । नगरपालिकाको समन्वयमा एनआईसी एशिया बैंकमार्फत वितरण हुँदै आएको भत्तामा अनियमितता र ढिलासुस्ती भएको भन्दै सेवाग्राहीहरूले कडा विरोध जनाएका हुन् ।

ज्येष्ठ नागरिकहरू महिनौँदेखि भत्ता नपाएको गुनासो गर्दै आएका छन् । बैंक र नगरपालिकाबीच समन्वयको अभावका कारण किस्ता–किस्तामा वितरण गरिने भत्ता रोकिएको सेवाग्राहीहरूको भनाइ छ ।

हिन्दूहरूको महान चाड विजयादशमी, दीपावली र छठ पर्वको मुखमा पुग्दा समेत भत्ता नपाउँदा सेवाग्राहीहरू चिन्तित र आक्रोशित बनेका छन् । समयमा भत्ता वितरण नगरेपछि गुजरा नगरपालिका–१ का वडा अध्यक्ष राजित चौधरीले प्रतीकात्मक विरोधस्वरूप एनआईसी एशिया बैंक र नगरपालिकाको कार्यालयमा ताला लगाएका छन्

वडा अध्यक्ष चौधरीले भने,

“जनताको अधिकार खोस्ने जो कोहीलाई गर्न दिइने छैन, जबसम्म सेवाग्राहीले आफ्नो हक पाउँदैनन्, तबसम्म म लडिरहन्छु ।”

उनले भत्ता वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न नगरपालिकाको नेतृत्व र बैंक व्यवस्थापनलाई चेतावनीसमेत दिएका छन् ।

यसैबीच, भत्ता वितरणमा ढिलासुस्ती र लापरबाहीका कारण गुजराका स्थानीयहरू सरकारसँग तत्काल पहल गर्न माग गरिरहेका छन् ।