रुपेन्द्र पटेल
रौतहट, ७ कार्तिक।
मधेश प्रदेश सरकार विस्तारबारे रौतहटको चन्द्रनिगाहपुरमा सत्तापक्ष दलहरूको बैठक सम्पन्न भएको छ। होटेल गोल्डेन बैङ्क्युटमा शुक्रबार बिहान ११ बजेदेखि बसेको बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी भएका थिए ।
बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको कार्यक्षेत्र (टिओआर) तथा विश्वासको मत लिने तयारीलगायतका विषयमा विस्तृत छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता समिर भट्टराईले जानकारी दिए ।
उनका अनुसार छठ पर्वका कारण हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको बताए ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री कनिश पटेलले मन्त्रालय भागबण्डा टुंगो नलागेको र विश्वासको मत लगत्तै टुङ्गो लाग्ने बताए ।
गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । असोज ३० गते उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको थियो । त्यसयता जनमत पार्टीका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का नेता कनिश पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरिएको भए पनि मन्त्रालयको जिम्मेवारी अहिलेसम्म तोकिएको छैन।








