राैतहट । नेकपा (एमाले) का केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जेन–जी आन्दोलनको नाममा हत्या, हिंसा र विध्वंस मच्चाउने अराजक समूहलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसँग चुनौती दिएका छन् ।
शुक्रवार फतुवा बिजयपुर नगरपालिका–६, पेटभरवामा दीपावली, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुशवाहाले भने —
“प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चाहेमा १० दिनभित्र ती अराजक तत्वहरूलाई नियन्त्रणमा लिन सक्छ, तर विदेशी इशारामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दोषी ठहर्याउन व्यस्त देखिन्छ।”
उनका अनुसार भदौ २३ गते काठमाडौंमा जेन–जी युवाहरूले भ्रष्टाचारविरुद्ध र सुशासनको मागमा गरेको शान्तिपूर्ण आन्दोलन जायज थियो, तर भदौ २४ गते उक्त आन्दोलनलाई ‘ह्याक’ गरी देशी–विदेशी चलखेलमा हिंसात्मक रूप दिइयो ।
“आन्दोलनको नाममा अराजक समूहले आफ्नै भाई–बहिनीको छातीमा गोली हाने, सिंहदरबारदेखि ऐतिहासिक सम्पदासम्म जलाइयो, तर सरकार मौन छ,” कुशवाहाले भने ।
‘संविधान अस्वीकार गर्नेले त्यही संविधान टेकेर मन्त्री बने’
कार्यक्रममा कुशवाहाले आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहमाथि पनि तीव्र प्रहार गरेका थिए ।
“२०७४ सालको संविधानलाई उत्कृष्ट भन्दै सबै सभासदहरूले हस्ताक्षर गरे, तर साहले गरेनन्। संविधान अस्वीकार गर्नेले फेरि त्यही संविधान टेकेर सांसद र मन्त्री बन्ने यो कस्तो नैतिकता हो?” उनले प्रश्न उठाए ।
आफू आम जनता पार्टीमा रहँदा विकासका नयाँ बाटोहरू खोलेको दाबी गर्दै उनले भने — “मैले पार्टीमा रहँदा बाटो खोलेँ, तर मैले छोडेपछि प्रभु साहले एक इन्च बाटो पनि निकाल्न सकेनन्।”
‘भयमुक्त निर्वाचन सम्भव छैन’
कार्यक्रमका अर्का बक्ता एमाले नेता उपेन्द्र साहले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन भयमुक्त वातावरणमा सम्भव नहुने टिप्पणी गरे ।
“जेन–जी आन्दोलनपछि भागेका हजारौँ कैदी र प्रहरीबाट लुटिएका हतियार अझै फिर्ता आएका छैनन्। यस्तो अवस्थामा निष्पक्ष र भयमुक्त निर्वाचन कसरी सम्भव हुन्छ?” उनले प्रश्न गरे ।
उपेन्द्र साहले प्रभु साहमाथि प्रहार गर्दै थपे —
“प्रभु साहले एमाले अध्यक्ष ओलीलाई गाली गर्छन्, तर उनकी श्रीमती रिना कुमारी साह मौलापुर नगरपालिकाको मेयर बनेकी छन् भने एमालेकै टिकटमा। साहलाई हिम्मत छ भने श्रीमतीलाई राजीनामा दिन लगाउनुस्।”
एमाले नेतृत्वमै सम्भव छ समृद्ध नेपाल
कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य गौरीशंकर साह, फतुवा बिजयपुर नगर इन्चार्ज सेख कलिमुल्लाह, पूर्व मन्त्री नागेन्द्र यादव, देवाही गोनाहीका मेयर प्रेमलाल साह, मौलापुरका उपमेयर नागेन्द्र यादव, मनोज यादव, क्षेत्रीय अध्यक्ष युवराज ज्ञवाली, पूर्व उपमेयर कान्ति देवी महतो, रामजी साहलगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरूले एमाले नेतृत्वमा बन्ने सरकारले मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना साकार गर्न सक्ने धारणा राखे ।
त्यस अवसरमा स्थानीय तहमा विकासका नाममा फैलिएका बेथिति र भ्रष्टाचारप्रति आक्रोश व्यक्त गर्दै वक्ताहरूले सुशासनयुक्त सरकार गठनका लागि एमालेको आवश्यकता औंल्याएका थिए ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राम एकवाल यादवले गरेका थिए ।








