रौतहट, १४ कात्तिक ।

दुई दिनदेखिको अविरल वर्षाले रौतहटका किसानहरू मारमा परेका छन्। लगातारको पानीका कारण खेतमा पाक्न लागेको धानमा ठुलो मात्रामा क्षति पुगेको किसानहरूले बताएका छन्।

धान काट्ने तयारीमा रहेका किसानहरू वर्षाले खेत जलमग्न भएपछि चिन्तित बनेका छन्। जिल्लाका विभिन्न स्थानहरू—गौर, कटहरिया, मौलापुर, गरुडा, चन्द्रपुर, डुमरवाना, राजपुर लगायतका क्षेत्रमा खेतमा पाक्दै गरेको धान पानीमा डुबेर नोक्सान भएको छ।

किसानहरूले बताउँदै भनेका छन्, “धान भित्र्याउने समयमै वर्षा परेकाले फलनको ३० देखि ४० प्रतिशतसम्म क्षति हुने सम्भावना छ।” खेतमा पानी जमेकाले धान काट्न पनि कठिनाइ भएको छ।

जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका अनुसार निरन्तरको वर्षाले जिल्लाभर करिब हजारौँ बिघा क्षेत्रफलको धान खेतीमा असर पुर्‍याएको अनुमान गरिएको छ। वर्षा अझै केही दिन जारी रहेमा नोक्सानीको मात्रा थप बढ्ने चिन्ता किसानहरूमा छ।

स्थानीय किसानहरूले सरकारसँग तत्काल क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने माग गरेका छन्।