रौतहट, कात्तिक १५
रौतहटको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारी कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको तालाबन्दी चौथो दिनसम्म पनि जारी रहेको छ।

लामो समयदेखि बक्यौता तलब र सेवा–सुविधा नपाएको भन्दै कर्मचारीहरूले दोस्रो पटक नगरपालिका कार्यालयसहित वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

लगातार चार दिनदेखि कार्यालय बन्द हुँदा सेवाग्राहीहरू अत्यावश्यक प्रशासनिक कार्यका लागि बिचल्लीमा परेका छन्। आन्दोलनरत कर्मचारीहरूले माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।

नगर प्रमुख अजय प्रकाश जयसवालले प्रमुख प्रशासकीय अधिकृतलाई तलब निकासा गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन नभएको दाबी गरेका छन्। तर कर्मचारीहरूले मेयर र प्रमुख प्रशासकीय अधिकृत दुवैले पटक–पटक आश्वासन दिएर पनि कार्यान्वयन नगरेको भन्दै अब विश्वास गर्न नसकिने बताएका छन्।

यसैबीच, कटहरिया–४ बलिरामपुरस्थित श्री दलित प्राथमिक विद्यालयमा पनि अभिभावकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले पाँच वर्षदेखि आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको र तीन वर्षदेखि २७३ विद्यार्थीको छात्रवृत्ति वितरण नगरेको भन्दै अभिभावकहरू आन्दोलित भएका हुन्।

अभिभावकहरूले हिसाबकिताब सार्वजनिक नभएसम्म विद्यालय नखोल्ने चेतावनी दिएका छन्। विद्यालयका प्रधानाध्यापक प्रभु महतोले आज दिउँसो इलाका प्रहरी कार्यालय कटहरियामा अभिभावकहरूसँग छलफल गरिने बताएका छन्।