पर्सामा लिखत सम्बन्धी कसुर मुद्धामा करिब चार वर्ष पुर्पक्षमा कारागार जीवन बिताएका एक व्यक्ति अन्ततः निर्दोष ठहर भएका छन्।

पर्सा जिल्ला अदालतले मोरङको साविक रंगेली गाउँपालिका–२ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका–७ निवासी ४६ वर्षीय सुरज भुषाललाई उक्त मुद्धामा निर्दोष रहेको फैसला गरेको हो। अदालतका न्यायाधीश रुद्र प्रसाद सुवेदीको इजलाशले कात्तिक १६ गते अन्तिम फैसला सुनाउँदै उनलाई दोषमुक्त ठहर गरेको हो।

भुषालको पक्षबाट अधिवक्ता निरुजा चापागाईंले गत ०८२ कात्तिक १३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दायर गरेकी थिइन्। उक्त रिटमा सर्वोच्च अदालतले पर्सा जिल्ला अदालतलाई एक साताभित्र मुद्धाको किनारा लगाउन निर्देशन दिएपछि भुषाल कात्तिक १६ मा निर्दोष सावित भएका हुन्।

अदालतका नायब सुब्बा प्रकाश पुडासैनीका अनुसार भुषाललाई पर्सा प्रहरीले लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमार्फत अभियोजन दर्ता गरेको थियो। २०७८ माघ १४ गते अदालतले एक लाख रुपैयाँ धरौटी माग्दै उनलाई थुनछेक आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनी सोही दिनदेखि वीरगञ्ज कारागारमा पुर्पक्षका कैदीका रूपमा बस्दै आएका थिए।

चार वर्षको अवधिमा मुद्धामा आठ पटकसम्म पेशी तोकिए पनि “हेर्न नभ्याइने सूची”मा परेको कारण लामो समयसम्म निर्णय हुन सकेन। भुषालमाथि बा.९२ प ७८२५ नम्बरको मोटरसाइकलको बुलबुक किर्ते गरेको आरोप लागेको थियो। तर, विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणले बुलबुक किर्ते नभएको पुष्टि गरेपछि अदालतले उनलाई निर्दोष ठहर गरेको हो।

नायब सुब्बा पुडासैनीका अनुसार भुषाल यसअघि सोही मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका थिए, तर ललितपुर जिल्ला अदालतले उनलाई सो मुद्धामा पहिले नै सफाइ दिएको थियो। त्यसपछि पर्सामा बुलबुक किर्ते गरेको भन्दै पुनः अर्को मुद्धा चलाइएको थियो।

अन्तिम बहसमा अधिवक्ता लिलाबहादुर रिजालविद्यादेवी कटुवालले भुषालको तर्फबाट बहस गरेका थिए। कानुनी व्यवसायी रामनारायण कुर्मीका अनुसार प्रहरी र सरकारी वकिल कार्यालयले समयमा प्रमाण संकलन नगर्दा यस्ता मुद्धा लम्बिने र निर्दोष नागरिकहरू वर्षौंसम्म जेल जीवन बिताउन बाध्य हुने अवस्था बनेको छ।

उनका भनाइअनुसार, भुषालले चार वर्ष कैदी जीवन व्यर्थ बिताउनुपरेको यो घटना न्यायिक ढिलासुस्तीको उदाहरण हो। कानुन अनुसार, निर्दोष सावित भई अनाहकमा जेल जीवन बिताएका व्यक्तिलाई राज्यले क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।

यसरी चार वर्षको संघर्षपछि सुरज भुषालले अन्ततः न्याय पाएका छन्, तर उनले व्यर्थ बिताएको समय र सहनु परेको पीडाको क्षतिपूर्तिको प्रश्न भने अझै खुला छ।