रौतहट २१ कार्तिक। रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश विगत १० दिनदेखि बेपत्ता भएपछि नगरमा विभिन्न समस्या देखा परेको छ । सो नगरपालिकामा ७० जना दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारी रहेकोमा मेयर अझै प्रकाशले १७० जनाको नाम लिस्ट लगेर रकम निकासा गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो ।

७० जना दैनिक ज्यालादारी र करारका कर्मचारीको तलब निकासा गर्नुपर्नेमा १७० जनाको निकाल्न कार्यालय प्रमुखलाई नगर प्रमुखले दबाब दिएपछि कार्यालय प्रमुखले कार्यालय छोडेर हिँडेका हुन् । कार्यालय प्रमुखले कार्यालय छोडेर हिँड्नेपछि दैनिक ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीहरूले नगरपालिकाको कार्यालय र नौवटै वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन्।

१० दिनदेखि तालाबन्दी भएका कारण सो नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा समेत पाउन सकेका छैनन् । कर्मचारीले वडा कार्यालय र नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि नगरप्रमुख अजय प्रकाश १० दिनदेखि बेपत्ता भएको स्थानीय सञ्चारकर्मी संजय मिश्राले जानकारी दिएका छन् ।

नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा तालाबन्दी भएपछि यतिबेला कटहरिया नगरपालिकाको मुख्य बजार क्षेत्र फोहोरका कारण दुर्गन्धित बनेको छ। १० दिनदेखि बजार क्षेत्रको फोहोर नउठेका कारण दुर्गन्धित बनेको स्थानीय बासिन्दाले बताएका छन्। फोहोर नउठेका कारण बजार क्षेत्रमा रोगको संक्रमण बढ्दै जाने खतरा समेत उत्पन्न भएको स्थानीयको भनाइ रहेको छ।