मिथिला क्षेत्रको जैविक विविधता र सांस्कृतिक चेतनासँग जोडिएको ‘नेपाल सर्प महोत्सव’ यो वर्ष पनि जनकपुरधाममा भव्य रूपमा आयोजित हुने भएको छ। देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण सारिएको तेस्रो संस्करण अब कार्तिक ३० र मङ्सिर १ गते धनुषाको मिथिला विहारी नगरपालिका–२ र ३, जनमुक्ति चोक नजिकै हुने आयोजकले जनाएका छन्।

मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा हुने यो दुई दिने महोत्सव ‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित मनाइनेछ।

आयोजक अध्यक्ष देव नारायण मण्डलका अनुसार सर्पप्रति समाजमा अझै पनि भय, भ्रम र अन्धविश्वास कायम भएकै कारण संरक्षण अभियान चुनौतीपूर्ण बन्दै गएको छ। “सर्प डस्ने भन्ने मात्र सोचाइले वातावरणीय सन्तुलनमा यसको भूमिकालाई बिर्साइदिएको छ,” उनले भने, “महोत्सवले मानिस र सर्पबीचको सम्बन्धमा सकारात्मक दृष्टिकोण निर्माण गर्ने लक्ष्य राखेको छ।”

महोत्सवमा विद्यालयका विद्यार्थी, स्थानीय जनप्रतिनिधि, पशु चिकित्सक, वातावरणविद् र समुदायका अगुवाहरूको सक्रिय सहभागिता रहनेछ। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ।