रौतहट२४ कार्तिक ।
मधेश प्रदेशमा एमाले, संघीय समाजवादी पार्टी र राप्रपाको सहभागितामा नयाँ सरकार गठन भएको छ। सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गरिएको हो।

नयाँ मन्त्रिपरिषद्मा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी, र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेका छन्। संघीय समाजवादी र राप्रपाका मधेश प्रदेशसभामा एक–एक जना मात्र प्रतिनिधि छन्।

यसअघि संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २३ गते विश्वासको मत नपाउने अवस्था देखिएपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुख भण्डारीले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गर्दा बर्दिबासको पानस होटलमै मुख्यमन्त्री यादवलाई शपथ खुवाएकी थिइन्। होटलमै शपथ ग्रहण गराइएको घटनाप्रति सामाजिक तथा राजनीतिक वृत्तमा आलोचना भइरहेको छ।