रौतहट,२८ कार्तिक । (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलबीचको एकीकरणपछि निर्वाचन आयोगमा पेस भएको १३८ सदस्यीय केन्द्रीय समिति सूचीले पार्टीभित्र व्यापक असन्तुष्टि सिर्जना गरेको छ। पेस भएको सूचीअनुसार करिब ४० प्रतिशत सदस्य तत्कालीन नेकपा एस (माधव नेपाल नेतृत्व) पक्षका छन्।
सूचीमा सह–संयोजक माधवकुमार नेपालसहित ५५ नेता नेकपा एस पृष्ठभूमिबाट परेका छन्। शीर्ष स्तरको संरचना हेर्दा पनि एस समूहकै प्रभाव देखिन्छ। टप १० मा माओवादी केन्द्रबाट पार्टी संयोजक प्रचण्डसहित चार जना मात्र परेका छन् भने एस समूहबाट सह–संयोजक नेपालसहित छैजना समेटिएका छन्।
तेस्रो नम्बरमा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र दशौँमा डा. बेदुराम भुसाल छन्।
यही अनुपात टप १५ भित्र पनि दोहोरिएको छ। १५ मध्ये ९ जना तत्कालीन एस समूहका नेता छन्। त्यसमध्ये ११ औँ नम्बरमा डा. गंगालाल तुलाधर, १२ औँमा धर्मनाथप्रसाद साह र १५ औँमा प्रकाश ज्वाला रहेका छन्।
रौतहटमा माओवादी केन्द्र शून्य, यूएसबाट चार–चार नेता
सबैभन्दा बढी असन्तोष रौतहट जिल्लामा देखिएको छ। नेकपा माओवादी केन्द्र रौतहटबाट एकजना पनि केन्द्रीय सदस्य नपरेको छ भने नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट भने रौतहटका चार जना केन्द्रीय सदस्य बनाउन सफल भएका छन्।
सूचीमा समेटिएका चार सदस्य हुन्—
- वञ्चितर मिश्र
- रामकुमार भट्टराई
- कल्याणी खड्का
- सरला यादव
यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा रौतहट क्षेत्र नं. ४(क) का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ समेत सूचीमा अटाउन नसक्दा जिल्लाभर पार्टीभित्र चर्को असन्तोष देखा परेको छ।
असन्तुष्टि बढ्दै, नेतृत्वप्रति रोष
रौतहटमा एकजना पनि केन्द्रीय सदस्य नअटाएको विषय माओवादी केन्द्रभित्र ‘भुसको आगो’ जस्तै दन्किन थालेको नेताहरू बताउँछन्।
अहिले नै माओवादी केन्द्र रौतहटका इन्चार्ज अशोक जयसवालले प्रचण्डले अघि सारेको एकीकरणमा आफू नजाने घोषणा गरिसकेका थिए। यसपछि आइरहेको नयाँ सूचीले रौतहट माओवादी केन्द्रको असन्तुष्टि झनै चर्को बनेको छ।
यता प्रचण्डका छोरी र बुहारी भने केन्द्रीय कमिटीमा परेपछि पनि संगठनभित्र प्रश्न उठ्न थालेका छन्—
“नेतृत्वका नातेदारलाई स्थान, तर संगठनका सक्रिय जिल्लालाई किन शून्य प्रतिनिधित्व?”
समग्रमा, निर्वाचन आयोगमा पेस भएको नयाँ सूचीले नेकपाभित्र शक्ति सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व र नेताहरूको भूमिका पुनः बहसको केन्द्रमा ल्याएको छ।








