चन्द्रपुर, रौतहट — चन्द्रोदय साकोसको आयोजनामा महिलाहरूको प्रजनन रुग्णतासम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा अपरेशन छनोट शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा २ सय २३ जना महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको चन्द्रोदय साकोसका अध्यक्ष वसन्त कुमार आचार्यले जानकारी दिनुभयो।
शिविरको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले गर्नुभयो। मेयर काफ्लेले यस्तो प्रकारका स्वास्थ्य कार्यक्रमले महिलाहरूमा समयमै रोग पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो।
साकोसका अनुसार परीक्षणपछि आवश्यक महिलाहरूलाई निःशुल्क अपरेशनका लागि छनौट गरिने छ। कार्यक्रमबाट लाभान्वित महिलाहरूले सहज र पहुँचयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।








