मंसिर ७, रौतहट
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकिएको आरोप लगाएका छन्। जसका कारण फागुन २१ गते तोकिएको निर्वाचन समयमै हुनेमा नै शंका पैदा भएको उनी बताउँछन्।
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ मा जिल्ला कार्यसमितीद्वारा आयोजित पार्टी प्रवेश तथा भेलामा बोल्दै यादवले आम मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने अवस्था नबनेको उल्लेख गरे।
सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरे पनि सुरक्षा र विश्वासिलो माहोल निर्माणमा असफल भएको उनको टिप्पणी थियो।
यादवले इतिहासमै पहिलो पटक सरकारले प्रहरीको मनोबल कमजोर पारेको दाबी गर्दै भने,
“निर्वाचनमा सुरक्षा दिने प्रहरीकै मनोबल गिराइयो भने निर्वाचनमा सुरक्षा कसरी सुनिश्चित हुन्छ?”
सरकारद्वारा चुनावका लागि सेना परिचालन गर्ने सम्भावनाबारे व्यक्त विचारलाई उनले अलोकतान्त्रिक भन्दै अस्वीकार्य बताए।
“लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव गरिँदैन। यो संविधान र लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल खाँदैन,” उनले भने।
‘३५ वर्षको नेतृत्वले देश अघि बढाउन सकेन’
यादवले कांग्रेस र कम्युनिस्ट दलले विगत ३५ वर्ष देशको नेतृत्व गरे पनि देशलाई समृद्ध बनाउनेतर्फ कुनै उल्लेखनीय काम नगरेको आरोप लगाए।
“यिनै दलहरूको चरम लुटतन्त्र, भ्रष्टाचार र गैरजिम्मेवारीका कारण नै जेनजी आन्दोलन हुने स्थिति सिर्जना भयो,” उनले भने।
त्यही अवधिमा भूटानजस्ता देश गरिबीबाट विकासतर्फ उक्लन सफल हुँदा नेपाल अझै कमजोर बन्दै गएको उनको भनाइ थियो। गरीबी, अशिक्षा र बेरोजगारी बढ्नुमा पनि उनले यी दललाई जिम्मेवार ठहराए।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य परिवर्तन गर्ने अवसरका रूपमा व्याख्या गर्दै उनले जनतालाई कांग्रेस–कम्युनिस्ट गठबन्धनलाई पराजित गर्न एकजुट हुन आग्रह गरे। जसपालाई उनले देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण गर्न सक्षम वैकल्पिक शक्ति भएको दाबी गरे।
५ सयभन्दा बढी कार्यकर्ता जसपामा
कार्यक्रममा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, कांग्रेस, जनमतलगायत पार्टी परित्याग गरी करिब ५ सय नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको बताइएको छ।
उनीहरूलाई अध्यक्ष यादवले टीका–माला लगाएर पार्टीमा स्वागत गरे।
रौतहटमा पछिल्ला दिनमा जसपाको संगठन विस्तार तीव्र गतिमा भइरहेको पार्टीले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा नयाँ कार्यकर्ता भित्रिनुले जिल्लाको राजनीतिक समीकरणमा जसपाको प्रभाव बढ्ने विश्लेषण गरिँदैछ।
कार्यक्रम जसपा रौतहटका अध्यक्ष राजीव रंजन (राजू यादव) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी, राष्ट्रियसभा सदस्य पूजा चौधरी, पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पूर्व मन्त्री शेख फूलबाबू, नेता किशोरी यादव, प्रदेश सांसद शोभा देवी, महिला नेतृ किरण ठाकुर, युवा नेता राजकुमार दासलगायतको उपस्थिति रहेको थियो।








