कलैया,८ मंसिर । बाराको पचरौटा नगरपालिका–६, चिकनी टोल नजिक गएराति प्रहरी र तस्कर समूहबीच गोलीहानाहान भएको छ। नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि गस्तीमा रहेको प्रहरी टोलीमाथि तस्करहरूले अचानक आक्रमण गरेपछि दुई पक्षबीच ९ राउन्ड गोली चलेको हो।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहका अनुसार राति करिब ११ बजे भारततर्फबाट नम्बर नभएको ट्र्याक्टरमार्फत मालसामान तस्करी गर्दै नेपाल प्रवेश गर्दै गरेको समूहसँग प्रहरीको जम्काभेट भएको थियो। सो क्रममा तस्करहरूले कटुवा बन्दुकबाट प्रहरीतर्फ दुई राउन्ड गोली चलाएपछि प्रहरीले सात राउन्ड जवाफी फायर गरेको साहले बताए।
‘तस्कर समूह तयारीसहित आएको थियो। उनीहरूले एकाएक आक्रमण गरेपछि प्रहरीलाई जवाफी कारबाही गर्नु परेको हो,’ उनले भने।
तस्करले प्रयोग गरेको ट्र्याक्टर भने भारततर्फ भगाउन सफल भएका छन्। तर प्रहरीको गस्ती टोलीले तस्करीमा संलग्न चारवटा मोटरसाइकल बरामद गरेको छ। बरामद मोटरसाइकलहरूमा बिआर ०५ बीएल ४१५४, बिआर ०५ बी ६८६४, बिआर ०५ बीडी ९८२१ र बिआर ०५ एडब्ल्यू ०५०१ नम्बर रहेका छन्। साथै भारतीय नागरिक रञ्जित कुमारको सवारी चालक अनुमति पत्र, ओप्पो र सामसुङका मोबाइल तथा नेपाली–भारतीय विभिन्न सिमकार्डहरू पनि फेला पारिएको प्रहरीले जनाएको छ।
घटनास्थलमै प्रारम्भिक अनुसन्धान सम्पन्न गरी आवश्यक प्रमाण संकलन गरिएको प्रहरीले बताएको छ। तस्कर समूहको खोजी तीव्र पारिएको र सीमा क्षेत्रमा बढ्दो तस्करी रोकथामका लागि अतिरिक्त गस्ती तथा निगरानी कडाइ गरिएको सिम्रौनगढ प्रहरीले जानकारी दिएको छ।