अशोक पहाडी
रौतहटको प्रमुख व्यापारिक केन्द्र चन्द्रनिगाहपुर क्षेत्रमा बिना नम्बर प्लेटका ई–रिक्सा धडल्लै चल्दै आएका छन्। नियमित ट्राफिक व्यवस्थापनमा चुनौती बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यस्ता रिक्सा नियन्त्रणमा लिन विशेष अभियान थालेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार केही समययता नम्बर प्लेट नलिई चलाइएका ई–रिक्साको संख्या उल्लेख्य रूपमा बढिरहेको थियो। धेरै ई–रिक्साले दर्ता, कर तिर्ने प्रक्रिया पूरा नगरी सडकमा गुड्ने गरेको गुनासो बढेपछि प्रहरीले कडाइपूर्वक जाँच गर्ने तथा नियम विपरीत चलेका सवारीसाधनलाई नियन्त्रणमा लिने कारबाही अघि सारिएको छ।
चन्द्रनिगाहपुरका स्थानीयले ई–रिक्सा बिक्री वितरणमा समेत अनियमितता बढेको आरोप लगाएका छन्। केही शोरुमहरुले एउटै नम्बर प्लेट दुईजनालाई बेच्ने, नम्बर प्लेट नभएको अवस्थामा पनि रिक्सा सडकमा चलाउन प्रोत्साहन गर्ने, तथा आफूहरुलाई ट्राफिक प्रहरीसँग ‘पहुंच’ रहेको भन्दै नक्कली आश्वासन दिने गरेको चालकहरुको आरोप छ। यसका कारण वैधानिक प्रक्रिया पूरा गरेर चलाउने चालकसमेत प्रभावित हुने गरेको बताइन्छ।
ट्राफिक प्रहरीले बजार क्षेत्रमा व्यापक निगरानी बढाएको छ। बिना नम्बर प्लेटका रिक्सा नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ। प्रहरीका अनुसार दर्ता र कर प्रणालीलाई व्यवस्थित बनाउन नियमन कडाइ गरिनु आवश्यक छ, अन्यथा दुर्घटना र विवादको जोखिम झन् बढ्नेछ।
स्थानीय व्यापारी, यातायात व्यवसायी र चालकहरूलाई कानुनबारे सचेत गराउँदै ट्राफिक प्रहरीले अवैध रूपमा चल्ने ई–रिक्सा नियन्त्रणमा लिने अभियान निरन्तर जारी रहने जनाएको छ।








