अशोक पहाडी
रौतहट – भारतीय सुर्तिजन्य वस्तु रौतहटका विभिन्न नाकाबाट दैनिक रूपमा छ्यापछ्याप्ती रूपमा भित्रिने क्रम रोकिएको छैन। सीमामा तैनाथ सुरक्षा निकायकै मिलेमतोमा भारतको बिहार राज्यबाट सुर्ती तथा गुठ्खा प्रकारका विभिन्न सामग्री नेपाल छिर्ने गरेको स्थानीयवासी र व्यवसायीहरूले आरोप लगाएका छन्।
स्रोतका अनुसार रजनीगन्दा तुलसी, कालो सुर्ती, पहेलो सुर्ती, विभिन्न ब्रान्डका गुठ्खा, पानमा हालिने मसलादेखि लिएर सुर्तीजन्य सूक्ष्म पदार्थहरू समेत ठूलो मात्रामा भारतबाट रौतहट प्रवेश गर्छन्। यस्ता वस्तुहरू नेपालमा आयातमै प्रतिबन्धित रहेका कारण वैध बाटो प्रयोग गर्न नसकिने हुँदा तस्करी नै प्रमुख मार्ग बनेको हो।
भन्सार कार्यालय गौरका अनुसार सुर्तीजन्य वस्तु नेपालमा आयात गर्न पूर्ण रूपमा प्रतिबन्धित छ। तर वास्तविकता भने भिन्न छ—प्रतिबन्ध हुँदाहुँदै पनि सुरक्षा निकायभित्रको मिलेमतोका कारण दैनिक लाखौँ रुपैयाँ बराबरका सुर्तीजन्य वस्तुहरू रौतहट हुँदै नेपालभरि फैलिने गरेको छ।
स्थानीय स्रोतहरूका अनुसार सीमामा तैनाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका केही समूहहरूले तस्करहरूसँग मिलेर “महिनाबारी असुल्ने” गरेका छन्। नियमितरूपमा लिइने सो अवैध रकमको भरमा तस्करहरूले ठूलो मात्रामा सुर्तीजन्य सामान भित्र्याउन सहज भइरहेकाले नेपालका धेरै भेगमा प्रतिबन्धित सुर्तीजन्य वस्तुको सहज आपूर्ति कायम रहेको छ ।
गौर, बङ्गकुल ,औरैया लगायतका स्थानहरू सुर्ती तस्करीका प्रमुख प्रवेश द्वार मानिन्छन्। तस्करहरूले भित्र्याएका वस्तुहरू रौतहटका विभिन्न गाउँ तथा बजार क्षेत्रमा बनेका गोप्य गोदामहरूमा राखेर त्यसपछि काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जदेखि पहाडी जिल्ला सम्म ढुवानी गर्ने गरिएको स्रोत बताउँछ।
यस्ता गोदामहरू प्रायः स्थानीय घरधनीसँग मिलेर ‘कमिशन’ मा सञ्चालन गरिँदा तस्करी नियन्त्रण झनै चुनौतीपूर्ण बनेको जनाइएको छ ।
विदेशी सुर्तीजन्य वस्तु अवैध रूपमा ठूलो मात्रामा नेपाल भित्रिन थालेपछि नेपाली सुर्ती उद्योगहरू गम्भीर रूपमा प्रभावित भएको व्यवसायीहरुको दाबी छ।
नेपालमै उत्पादित सुर्तीको माग घट्दै जाँदा उद्योगहरूले उत्पादनसमेत कटौती गर्नुपर्ने अवस्था उत्पन्न भएको छ। आयात प्रतिबन्धकै बावजूद भारतबाट खुलेआम आउने यस्ता वस्तुहरूले राजस्व चोरी, स्वास्थ्य हानि र स्थानीय रोजगारमा असर पुगेको उद्योगीहरूको गुनासो छ।
यद्यपि समय–समयमा प्रहरी प्रशासनले केही मात्रामा तस्करी रोकिएको दाबी गरे पनि वास्तविक रूपमा तस्करीको संरचना जटिल बन्दै गएको छ। स्थानीयहरूले बारम्बार उच्च तहमा राजनीतिक संरक्षण र सुरक्षा निकाय भित्रैका मिलेमतोका कारण तस्करी नियन्त्रण कठिन भएको प्रतिक्रिया दिने गरेका छन ।
प्रतिबन्धित वस्तु खुलेआम सीमा नाकाबाट भित्रिनु राजस्व चोरी र कानुनको धज्जी उडाउनु मात्र नभई युवा पुस्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने विषय पनि हो। तस्करी नियन्त्रणका लागि सुरक्षा निकायभित्रको मिलेमतो तोडेर कडा कारबाही तथा प्रविधिमैत्री निगरानी आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।






