वीरगञ्ज, १५ मंसिर
नेकपा एमालेको आगामी मंसिर २७, २८ र २९ मा हुन लागिरहेको ११औँ केन्द्रीय महाधिवेशनका लागि पर्सा जिल्लामा प्रतिनिधि छनौटका क्रममा नातावाद र कृपावाद हावी भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

पर्सा जिल्लामा मंसिर ११ मा मनोनयन दर्ता गरी प्रतिनिधि छनौट प्रक्रिया थालिएको थियो। तर प्रतिनिधि चयनको क्रममा केही नेताले आफ्नो परिवार तथा आश्रित व्यक्तिलाई प्राथमिकता दिएको आरोप पार्टीभित्रैबाट तीव्र रूपमा उठेको हो।

नातावाद–कृपावादको आरोप

पार्टीका केन्द्रिय सदस्य राजकुमार गुप्ताले आफ्ना छोरा रवि गुप्तालाई र जिल्ला इन्चार्ज प्रभु हाजराले आफ्ना छोरा अनिल कुमार हाजरालाई प्रतिनिधिमा चयन गराएको भन्दै कार्यकर्ताले खुलेर आपत्ति जनाइरहेका छन्।

सामाजिक सञ्जालमा कार्यकर्ताहरूले पार्टीभित्रको यस्तो प्रवृत्ति पार्टीलाई कमजोर बनाउने भन्दै कडा प्रतिक्रिया दिएका छन्।

नेताहरूको प्रतिक्रिया

नेकपा एमाले पर्साका सचिव महेश दासले प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको वर्तमान संवेदनशील वेलामा पार्टीभित्र विभाजन हुनेगरी निर्वाचन गर्न नहुने स्पष्ट धारणा व्यक्त गरे।
उनले प्रतिनिधि चयन सहमतिको आधारमा मात्रै हुनुपर्छ भन्ने मत राख्दै सहमति अनुसारको निर्णयलाई स्वीकार गरेको बताए।

पर्सा प्रचार विभाग प्रमुख सुन्दर कुर्मीले समेत वर्तमान विषम परिस्थितिमा सहमतिमार्फत प्रतिनिधि चयन गर्नु उचित रहेको भन्दै लिखित रुपमा आफ्नो राय पेस गरेका थिए।
तर सहमतिको नाममा नातावाद र परिवारवाद हावी भएको देखिएको भन्दै उनले जिम्मेवार नेताहरुप्रति सावधान रहन आग्रह गरे।

सचिवालय सदस्य अरुण यादव, बाबुराम खनाल, युवा संघ पर्साका सचिव राकेश महतो, तथा युवा नेता बिक्की सिंहले पनि विभिन्न किसिमले व्यंग्य तथा आलोचना व्यक्त गरेका छन्।
खासगरी ‘अंश–वंश’लाई प्राथमिकता दिइने प्रवृत्तिले पार्टी संगठन कमजोर हुने चेतावनी उनीहरूले दिएका छन्।

कस–कस्ले पाए प्रतिनिधित्व?

पर्साका ४ वटै क्षेत्रमा गरी ३१ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको प्रमुख निर्वाचन अधिकृत बिनोद गिरीले बताएका छन्। उम्मेदवारी परेको संख्यामा ९३ जना भए पनि सहमतिबाटै सूची टुंग्याइएको हो।
चारवटै क्षेत्रमा संस्थापन पक्षको बढी प्रभाव देखिएको छ।

क्षेत्र नं. १ बाट चयन भएका प्रतिनिधि (९ जना):

विजयकुमार सरावगी, विश्वम्भर शर्मा, राजेन्द्र यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, सविता गिरी, मुना दाहाल, रन्जु फुयाँल, महम्मद निजाम

क्षेत्र नं. २ बाट (७ जना):

लियाकत अली, उस्मान अन्सारी, मनोज कुशवाहा, जयनारायण सिंह, सीता लामा, रमिला खातुन, सन्तोष पासवान

क्षेत्र नं. ३ बाट (८ जना):

प्रह्लाद गिरी, प्रमोद जैसवाल, प्रधुमन चौहान, शिव पटेल, रुबी ठाकुर, उर्मिला देवी, सबिना खातुन, रवि गुप्ता

क्षेत्र नं. ४ बाट (७ जना):

जालिम मियाँ मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ, बिरेन्द्र यादव, सुबास साह कानु, गोकुली रेग्मी, अंशु आनन्द

सहमतिको नाममा परिवारवाद र नातावादको हावीपन देखिएको भन्दै स्थानीय कार्यकर्ताहरू असन्तुष्ट छन्।
नेताहरूले समेत आलोचना गर्दै पार्टी नेतृत्वले समयमै सुधार नल्याए नकारात्मक प्रभाव परिरहने चेतावनी दिएका छन्।