भक्तपुर । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ । यसैक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट रौतहट जिल्लाका चार जना नेताहरू केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
ओली प्यानलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेमा कुन्दन कुश्वाह, अजय कुमार गुप्ता, उपेन्द्र साह र आरती भण्डारी रहेका छन् । रौतहटका प्रभावशाली र अनुभवी नेताहरूको रूपमा परिचित उनीहरूको उम्मेदवारीलाई जिल्लादेखि केन्द्रसम्म सकारात्मक रूपमा हेरिएको छ ।
महाधिवेशनमा सहभागी रौतहटका प्रतिनिधिहरूले चारै जनाको जित सुनिश्चित रहेको दाबी गरेका छन् । प्रतिनिधिहरूका अनुसार पार्टी संगठन निर्माण, आन्दोलन र जनसरोकारका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका यी नेताहरूले पार्टीभित्र उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्, जसका कारण उनीहरूप्रति प्रतिनिधिहरूको विश्वास बलियो बनेको छ ।
कुन्दन कुश्वाह पार्टी संगठन विस्तार र मधेस क्षेत्रमा एमालेको जनाधार बलियो बनाउन सक्रिय नेताको रूपमा चिनिन्छन् । अजय कुमार गुप्ता पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी नेता हुन् भने उपेन्द्र साह वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका कारण प्रतिनिधिहरूबीच लोकप्रिय छन् । त्यस्तै, आरती भण्डारी महिला नेतृत्वको सशक्त प्रतिनिधित्व गर्दै पार्टीभित्र उदाउँदो नेतृका रूपमा स्थापित हुँदै आएकी छन् ।
महाधिवेशन स्थलमा रौतहटबाट आएका प्रतिनिधिहरू एकताबद्ध रूपमा ओली प्यानलको समर्थनमा उभिएका छन् । उनीहरूका अनुसार अध्यक्ष ओलीको नेतृत्वमा पार्टीलाई अझ सुदृढ र अनुशासित बनाउने अभियानमा रौतहटका यी चार नेताहरूको भूमिका महत्त्वपूर्ण रहनेछ ।
पार्टी स्रोतका अनुसार ओली प्यानललाई देशभरबाट व्यापक समर्थन मिलिरहेको छ । त्यसको प्रभाव रौतहटबाट उठेका उम्मेदवारहरूमा पनि स्पष्ट देखिएको छ । प्रतिनिधिहरूले चारै जनालाई केन्द्रीय नेतृत्वमा पुर्याएर मधेसको आवाज केन्द्रसम्म मजबुत रूपमा पु¥याउने लक्ष्य लिएका छन् ।
एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी दिशा र रणनीति तय गर्ने अपेक्षा गरिएको छ । यस्तो महत्वपूर्ण समयमा रौतहटबाट चार–चार जना केन्द्रीय सदस्य पदका उम्मेदवार ओली प्यानलबाट मैदानमा उत्रनु जिल्लाका लागि गौरवको विषय भएको स्थानीय नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।
मतदान परिणाम सार्वजनिक भएपछि रौतहटका यी चार नेताहरूको जितले जिल्लाको राजनीतिक प्रभाव केन्द्रमा अझ बलियो बन्ने विश्वास एमालेजनहरूले व्यक्त गरेका छन् ।








