काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भोलि हुने केन्द्रीय नेतृत्व चयनका लागि हुने निर्वाचनमा रौतहटबाट उदाएकी युवा नेत्री आरती भण्डारी केन्द्रीय सदस्य पदको चुनावी मैदानमा दृढ आत्मविश्वासका साथ उत्रिएकी छिन्। संगठन, संघर्ष र समर्पणको परिचय दिँदै अघि बढेकी भण्डारी यसपटक पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने प्रबल सम्भावनासहित प्रतिस्पर्धामा होमिएकी हुन्।

नेकपा एमाले मधेश प्रदेशको उपसचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी भण्डारीले संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र पार्टीको नीति–कार्यक्रम कार्यान्वयनमा प्रभावकारी भूमिका खेलेकी थिइन्। त्यस्तै, भूमि आयोगको केन्द्रीय सदस्यको हैसियतमा उनले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका पक्षमा गरेको कामले उनलाई जनस्तरमा थप चिनाएको छ।

विशेषगरी युवा पुस्तामाझ लोकप्रिय, स्पष्ट वक्ता र ऊर्जाशील नेतृका रूपमा परिचित आरती भण्डारीलाई पार्टीभित्र भविष्यको आशालाग्दो नेतृत्वका रूपमा हेरिएको छ। केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनेकी भण्डारीप्रति प्रतिनिधिहरूको उत्साह र समर्थन उल्लेखनीय देखिएको छ।

महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूका अनुसार संगठनप्रतिको निष्ठा, अनुभव र युवा नेतृत्वको मागका कारण भण्डारीको जित लगभग सुनिश्चितजस्तै रहेको छ। रौतहट मात्र होइन, मधेश प्रदेशकै प्रतिनिधिहरूबाट व्यापक समर्थन प्राप्त गरिरहेकी भण्डारीको सम्भावित विजयलाई पार्टीको केन्द्रीय राजनीतिमा नयाँ ऊर्जा थपिने संकेतका रूपमा हेरिएको छ।

यदि भोलिको निर्वाचनबाट भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भइन् भने, त्यो एमालेमा युवा र महिलाको सशक्त उपस्थितिको सशक्त सन्देशका रूपमा स्थापित हुने विश्लेषकहरूको बुझाइ छ।