रौतहटको वृन्दावन नगरपालिकामा एक स्थानीय नागरिकले विगत दुई दशकदेखि निरन्तर रूपमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएका छन्। वृन्दावन नगरपालिका वडा नम्बर ६ हर्षाह निवासी ५० वर्षीय वेद प्रकाश तिवारीले राष्ट्रिय झण्डा र तत्कालीन राजाको तस्बिर अंकित प्लेकार्ड बोकेर दैनिक सडकमा हिँड्दै “राजा आउ, देश बचाऊ” भन्ने नारा लगाउने गरेका छन्।
तिवारीले करिब २० वर्षदेखि कुनै संगठन वा दलको साथ नलिई एक्लै यो अभियान चलाउँदै आएका हुन्। बिहानदेखि साँझसम्म मुख्य सडक, बजार क्षेत्र तथा सार्वजनिक स्थानमा देखिने उनी हातमा राष्ट्रिय झण्डा र राजाको फोटो बोकेको प्लेकार्डसहित पैदल यात्रा गरिरहेका हुन्छन्। उनका अनुसार देशमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र जनताको बढ्दो निराशाको अन्त्य राजतन्त्र पुनःस्थापनाबाट मात्रै सम्भव छ।
“राजा देशमा फर्किए देशको भलो हुन्छ,” तिवारीले भने, “अहिलेको व्यवस्था जनताको हितमा देखिएको छैन। जबसम्म देशमा राजतन्त्र फर्किँदैन, तबसम्म म यो अभियान छोड्दिनँ।” उनले आफूलाई कुनै राजनीतिक स्वार्थ नभएको र यो अभियान पूर्ण रूपमा देशप्रेमबाट प्रेरित रहेको दाबी गरे।
स्थानीय बासिन्दाहरूका अनुसार तिवारीलाई धेरैले चिन्छन् र उनको निरन्तरताको खुलेर प्रशंसा पनि गर्छन्। कतिपयले उनको अभियानलाई व्यक्तिगत धारणा भन्दै बेवास्ता गरे पनि केहीले भने उनको धैर्यता र अडानको सम्मान गर्ने गरेका छन्। दैनिक रूपमा सडकमा देखिने भएकाले उनी अहिले वृन्दावन क्षेत्रमा परिचित व्यक्तित्व बनेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार लोकतान्त्रिक व्यवस्थामा विभिन्न विचार र धारणा व्यक्त हुनु स्वाभाविक भए पनि तिवारीको लामो समयदेखिको निरन्तर अभियानले अझै पनि समाजमा राजतन्त्रप्रति केही वर्गको आकर्षण जीवित रहेको संकेत गर्दछ।
देशमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक बितिसक्दा पनि वेद प्रकाश तिवारीजस्ता नागरिकहरूले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आवाज उठाइरहनु राजनीतिक बहसको एउटा पाटोका रूपमा देखिएको छ। तिवारीले भने आफू जीवित रहुन्जेलसम्म यो अभियान नरोकिने अडान दोहोर्याएका छन्।








