गौर,५ पुस ।नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्तालाई उनको गृहनगर रौतहटको गौरमा भव्य स्वागत गरिएको छ। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गुप्ता आज पहिलोपटक गौर आइपुगेका हुन्।
गौर आगमनका क्रममा उनलाई नेकपा एमालेका जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाले फूलमाला, पार्टी झण्डा र नाराबाजीसहित आत्मीय स्वागत गरेका थिए। गौरका विभिन्न स्थानमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमले सिंगो सहर उत्साहमय बनेको थियो।
स्थानीय नेताहरूका अनुसार लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनु गौर र समग्र रौतहट जिल्लाका लागि गर्वको विषय हो। उनीहरूले पार्टी संगठन सुदृढीकरण, जनमुखी नीति कार्यान्वयन तथा क्षेत्रको समग्र विकासमा गुप्ताबाट प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।
स्वागत कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य गुप्ताले आफूलाई विश्वास गरेर मतदान गर्ने प्रतिनिधि, नेता–कार्यकर्ता तथा आम जनताप्रति धन्यवाद व्यक्त गरे। उनले पार्टीको नीति, सिद्धान्त र नेतृत्वको निर्देशनअनुसार संगठनलाई थप मजबुत बनाउँदै मधेश प्रदेशसहित देशको विकास, सुशासन र समृद्धिका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।
गौरमा भएको भव्य स्वागतले अजय कुमार गुप्ताप्रतिको जनसमर्थन र नेकपा एमालेभित्र उनको राजनीतिक उचाइलाई थप सुदृढ बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।








