जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जलेश्वर, नख्खु, जगन्नाथदेवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा बाल सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।
यसैबीच, प्रहरीले धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिक सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको छ। सो बन्दुकको विषयमा इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जनाएको छ।








